विश्वप्रकाश शर्माकाे प्रस्ताव : ‘दाेहाेरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गराैँ’

 फागुन ३०, २०७९ मंगलबार १५:४८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । राजनीतिमा मान्छेहरूलाई आकर्षित गर्नका लागि पनि एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चार पटकसम्म सांसद हुने व्यवस्था गर्नु उपयुक्त हुने उहाँको भनाइ थियो ।

नेपाल ट्रेड युनियन कांग्रेसको मङ्गलवारदेखि काठमाण्डाैमा सुरु भएको नीति सम्मेलनमा बोल्दै महामन्त्री शर्माले राष्ट्रपति पदमा एउटै व्यक्तिले दोहोर्‍याएर शपथ ग्रहण गर्न नपाउने व्यवस्था गरेको भए अहिलेसम्म देशले पाँचौँ राष्ट्रपति पाइसकेको हुने स्मरणसमेत गराउनु भयो । उहाँले सांसद, मन्त्री भइसकेकाहरूले देशको आर्थिक रूपान्तरणको काममा योगदान दिन सक्ने व्यवस्था नीतिगतरूपमै भए त्यो झनै राम्रो हुने धारणासमेत राख्नुभयो ।

महामन्त्री शर्माले भन्नुभयो, ‘एक पटक एउटा मान्छे राष्ट्रपति बन्ने, दोहोर्‍याएर शपथ ग्रहण गर्न नपाउने भनेको भए अहिले रामचन्द्र पौडेलले शपथ ग्रहण गर्दै गर्दा देशले पाँचौँ राष्ट्रपतिले पाइसकेको हुन्थ्यो । डा. रामवरणले दुई पटक, विद्या भण्डारीले दुई पटक शपथ ग्रहण गर्नुभयो । राजनीतिमा रूपान्तरणभन्दा कतिखेर मान्छे आकर्षित हुन्छ भने एउटा मान्छे एकचोटि राष्ट्रपति बनोस् । दुई पटक प्रधानमन्त्रीको शपथ ग्रहण गरोस् । तीन पटक मन्त्री हुँदै गर्दा आफ्नो सम्पूर्ण योग्यता देखाओस् । चार पटकसम्म सांसद बनोस् । पाँचौँ पटक उसले आर्थिक रूपान्तरणको काममा हात हालोस् ।’

कार्यक्रममा बाेल्दै महामन्त्री शर्माले भ्यु टावर बनाउने कुरा, एकै पटक धेरै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा देशका लागि आर्थिक बोझको विषय भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले देशलाई प्रतिफल दिन सक्ने आयोजनाहरूको छनाेट गरी त्यसलाई अघि बढाउने गरी नीतिगत व्यवस्था गर्न जरुरी रहेको पनि बताउनुभयो । महामन्त्री शर्माले राष्ट्रिय उत्पादन वृद्धि गर्ने काममा तीव्रता दिने गरी सरकारले काम गर्नुपर्ने बताउनुभयो । उहाँले नयाँ पुस्तालाई वितृष्णा हुने गरी रेलमार्गलगायतका आयोजनाूको छनाेट गर्न नहुने पनि पटक–पटक दोहोर्‍याउनुभयो ।

महामन्त्री शर्माले राजनीति नागरिककाे आर्थिक रूपान्तरणमा योगदान दिने कुरामा केन्द्रित हुनुपर्ने स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया