पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु कमिशनको खेलमा मात्रै लाग्दा रहेछन् : मन्त्री किराती

 चैत १८, २०७९ शनिबार १२:४०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु कमिशनको खेलमा मात्रै लाग्ने गरेको पाइएको बताउनु भएको छ । 

शनिबार बिहान पशुपतिनाथ क्षेत्रको सरसफाईमा सहभागी भएलगत्तै नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्रममा उहाँले यस्ताे कुरा बताउनु भएको हो । पशुपति क्षेत्र परिसरमा सफाई गर्ने क्रममा आफूलाई त्यहाँ रहेका मानिसहरुले पशुपति क्षेत्र विकास कोष जताबाट कमिशन आउँछ, त्यतै लाग्ने गरेको बताएको उहाँको भनाई थियो । मन्त्री किरातीले पशुपतिनाथ क्षेत्रको फोहोर देखेर आफू साह्रै लज्जित भएर फर्केको पनि बताउनु भयो ।

त्यहाँ जाने दर्शनार्थीहरुले ट्वाईलेट आफूलाई सोधेको र आफू पनि टवाईलेट खोज्दै हिड्नुपर्ने अवस्था आएको पनि उहाँको गुनासो थियो । मन्त्री किरातीले पर्यटनको पहिलो आधार सरसफाई भएकाले आफू पनि पशुपतिनाथ क्षेत्रको सफाईमा गएको तर त्यहाँ धेरै फोहोर रहेको समेत बताउनु भयो ।

उहाँले पशुपति क्षेत्रमा बिहान मोर्निङ वाकमा आउनेहरुले समेत फोहोर फ्याँकेर जाने गरेकाले त्यहाँको सफाईका लागि सबै सुध्रनुपर्ने अवस्था रहेको बताउनु भयो ।

‘पशुपतिनाथ सरसफाई पनि पर्यटक बढाउनका लागि हो । आज चाँही धेरै नै फोहोर देखेर म आफैं पनि साह्रै लज्जित भएर फर्केको छु । हाम्रो प्रवृत्ति कस्तो भयो भने मन्त्री भईसकेपछि गाडीबाट तल नझर्ने । कर्मचारी सिमित जागिर मात्रै खाने हो भन्ने ठान्ने । विकास कोषका साथीहरु कहाँबाट कमिशन आउँछ, खाली त्यतै मात्रै लाग्ने । आज त्यहाँको सबै जनताले भने नि त । त्यहाँको पसलदेखि लिएर बसको पैसा उठाएर फोहोर सफा नगर्नेदेखि लिएर अव संस्कृति जनतामा कस्तो भने कुकुर डोहोर्‍याउँदै जाने, मोर्निङ वाकमा जाँदा अर्को हातमा प्लाष्टिकमा फाेहाेर फ्याँकेर हिँड्ने', मन्त्री किरातीले भन्नुभयो, 'हामी सबै सुध्रिनुपर्ने देखिन्छ । पर्यटनको पहिलो आधार भनेकै सरसफाई हो । जहाँ हामी सफाई नै गर्दैनौं । धेरै मानिसहरुले आज मलाई ट्वाईलेट कता भनेर सोध्यो पशुपतिनाथमा । म आफैं ट्वाईलेट खोजी हिँडदै थिएँ । कति गाह्रो छ । हामी चौतर्फी पर्यटनमा एउटा कम्पन ल्याउनका निम्ति कोसिस गर्दैछौं । त्यसमा यो पनि एउटा आधार भएको छ ।’

मन्त्री किरातीले पशुपतिनाथ क्षेत्रमा पैसा लिएर पनि त्यहाँ फोहोर नउठाउने गरेको आफूले पाएको बताउनु भयो ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया