सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
कटु आलोचनाका बीच फिलिपिन्स र संयुक्त राज्य अमेरिकाले वृहत् संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । सुरक्षा विश्लेषकहरूका अनुसार यो अभ्यास एक दशकयताकै सबैभन्दा वृहत् हो ।
संयुक्त सैन्य अभ्यास र गतिविधिले यस क्षेत्रमा शान्ति र स्थायित्वको सट्टा तनाव बढाएको विश्लेषकहरूले बताएका छन् । बालिकाटन नामको १८ दिने याे अभ्यासमा पाँच हजार चार सय जना फिलिपिन्सका र १२ हजार दुई सय जना अमेरिकी सैनिक सहभागी रहेका फिलिपिन्सको सेनाले जनाएको छ । सैन्य अभ्यासमा अस्ट्रेलियाको सशस्त्र सेनाबाट एक सय जना सदस्य तथा जापान, बेलायतलगायत दर्जनौँ देशले पर्यवेक्षकका रूपमा भाग लिएका छन् ।
'बालिकाटन २०२३' उत्तरी लुजोन टापु, पलावान प्रान्त, बाटानेस टापु र जाम्बालेस प्रान्तलगायत धेरै स्थानमा आयोजना हुनेछ । याे अभ्यास सामुद्रिक सुरक्षा, 'साइबर डिफेन्स', प्रतिआतङ्कवाद, मानवीय सहायता, प्रकोप व्यवस्थापन तथा उद्धारमा केन्द्रित हुनेछ । अभ्यासका क्रममा फिलिपिन्स र अमेरिकी सेनाले हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टमसहित अत्याधुनिक हतियार प्रणालीलाई पनि सक्रिय पार्नेछन् ।
यसैबीच लिगअफ फिलिपिनो स्टुडेन्ट्सले याे अभ्यासको विरोध गरेको छ । सैन्य अभ्यास औपचारिक रूपमा सुरु हुनु केहीबेरअघि याे सङ्गठनका सदस्यले विरोध प्रदर्शन गरेका थिए । विरोधका क्रममा उनीहरूले फिलिपिन्स सरकारलाई अमेरिकासँगको सैन्य सम्झौता खारेज गर्न माग पनि गरेका थिए ।
प्रदर्शनकारीले सैन्य अभ्यासको निन्दा गरिएका प्ले कार्ड र ब्यानर बोकेका थिए । साथै उनीहरूले फिलिपिन्सका नागरिकलाई याे अभ्यासको विरोध गर्न आह्वान पनि गरेका थिए । केही प्रदर्शनकारीले फिलिपिन्समा रहेकाे अमेरिकी राजदूतावासबाहिर रहेको अमेरिकाको प्रतीक चिह्नमा रङले भरिएका औजारबाट प्रहार गरी प्रतीक चिह्नलाई विकृत पारेका थिए । अभ्यासको औपचारिक कार्यक्रम भइरहेका बेला सैनिक मुख्यालय र अन्य सैनिक क्याम्पका गेटमा अर्काथरि प्रदर्शनकारीले अभ्यासको विरोध गरेका थिए ।
फिलिपिन्सकाे विद्वत् वर्गको समूह एसियन सेन्चुरी फिलिपिन्स स्ट्राटेजिक स्टडिज इन्स्टिच्युटका उपाध्यक्ष अन्ना मालिन्डोग उयले बालिकाटन अभ्यासबाट दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) क्षेत्र र विशाल एसिया–प्रशान्त क्षेत्रमा अस्थिरता सृजना गर्ने टिप्पणी गर्नुभएकाे छ । उहाँले अमेरिकालाई हतियारमा खर्च गर्नुको सट्टा यस क्षेत्रका देशलाई आर्थिक सहयोग गर्न सुझाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।