सिंहदरवारमा रहेको दिवा शिशु स्याहार केन्द्रका कारण महिला कर्म...
माघ १२, २०८१ शनिबार
दाङ - दाङमा पशुमा लाग्ने लम्पीस्किन रोगको सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समय दाङको बङ्गलाचुली, राप्ती, लमही, गढवा, राजपुर, घोराहीका लगायत क्षेत्रका रोगको सङ्क्रमण बढेको जनाइएको छ।
बङ्गलाचुली गाउँपालिकाको वडा नं ४, ५, ६, ७ र ८ मा बढी मात्रामा रोग सङ्क्रमण देखापरेको छ । रोगका कारण बङ्गलाचुली–७ जबरकोटका टीकाराम नेपाली, जुद्धबहादुर नेपाली, वडा नं ८ पाँचपोखरीका तिलकराम घर्तीमगर र गोठीवनका गुमानसिंह घर्तीमगरका पशु चौपाया बिरामी परेका उपचारमा खटिनुभएका बङ्गलाचुली गाउँपालिकाका पशु शाखा प्रमुख गोविन्द नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाका करिब दुई सय ५० भन्दा बढी पशु चौपाया बिरामी परेका छन् ।
रोग लागेमा पशुका शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, खुट्टा सुन्निने तथा लुलो हुने, दूध दिन छाड्ने समस्या हुने गरेको उहाँले बताउनुभयो । जिल्लामा रहेकाे पशु सेवा विज्ञ केन्द्रसँगको समन्वयमा बिरामी पशुको नमुना सङ्कलन गरी क्षेत्रीय प्रयोगशाला सुर्खेत पठाएकामा त्यहाँबाट लम्पीस्किन पुष्टि भएको विज्ञ केन्द्रका भेटेरेनरी अधिकृत भरत देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार यसको थप अनुसन्धानका लागि काठमाण्डौ नमुना पठाइएको बताउनुभयो ।
राप्ती गाउँपालिकाको वडा नं ५, ७, ८ र ९ का विभिन्न बस्तीमा त्याे रोगले पशु थलिएका छन् । यहाँ तीन सय ५० भन्दा बढी गाईगोरु बिरामी परेका पशु सेवा शाखा प्रमुख जीवराज पौडेलले बताउनुभयो । उहाँका अनुसार पशु प्राविधिकको टोलीले पालिकाको वडा नं ५ को करङ्गेकोट, थकरीकोट, वडा नं ९ को घोसखोला, देवीकोटलगायत ठाउँमा एक हप्ताभन्दा बढी समय लगाएर उपचार गरेको छ । अहिलेसम्म राप्ती गाउँपालिकाको रुपाकोट, घोसखोलालगायत ठाउँमा पाँच पशु मरेका उहाँले जानकारी दिनुभयो ।
लम्पीस्किनका कारण राजपुर, लमहीलगायत ठाउँमा पनि समस्या बढ्दै गएको छ । 'पहिले पहाडी क्षेत्रमा समस्या देखियो अब बिस्तारै तराईतिर सर्दै गएको छ, पशु सेवा विज्ञ केन्द्र प्रमुख सुदाम भट्टले भन्नुभयो, 'लम्पीस्किन एक प्रकारको बिफरजस्तै रोग हो । भाइरसका कारण रोग लाग्ने भएकाले उपचार छैन । रोकथामको प्रयास गर्ने हो । सबैभन्दा महत्त्वपूर्ण कुरा सावधानी अपनाउनु नै हो ।'
'दाङमा प्रयोगशाला छैन, सुर्खेत पठाउनुपर्छ, अहिलेसम्म यसरी नै काम चलेको छ । उता पनि नभ्याउने भएपछि केन्द्रमा पठाउने गरिएको छ । यसले गर्दा पनि उपचारमा समस्या हुने गरेको छ', उहाँले भन्नुभयो, 'यहाँ रोगले ग्रस्त बनाइसकेको हुन्छ, के भएको हो भन्ने थाहा पाउन लामो समय कुर्नु परिरहेको हुन्छ ।'
घोराही उपमहानगरपालिका–१९ का पहाडी क्षेत्रमा पनि लम्पीस्किन रोगका कारण किसान समस्यामा परेका छन् भने पशुलाई सास्ती भएको छ । राप्ती गाउँपालिकाको पहाडी क्षेत्रमा देखिएको लम्पीस्किनको सङ्क्रमण वडा नं २, ३ र ४ मा पनि देखापरेको पशु सेवा शाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।