गण्डकी प्रदेशले पाँच वटा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने

 जेठ २२, २०८० सोमबार ९:१२:४४ | रासस
unn.prixa.net

फाइल तस्बिर

कास्की - गण्डकी प्रदेश सरकारले पाँच वटा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ ।

आइतवार हिजाे सार्वजनिक भएकाे आउँदो आव २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा तनहुँको भिमाददेखि नवलपुरको डेढगाउँ, डेढगाउँ–झ्यालबास, बाग्लुङको बिहुँ–नरेठाँटी, म्याग्दीको दानादेखि मुस्ताङको घाँसा र लमजुङको शीतलपाटी–नाल्फाफेँदी सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने उल्लेख छ ।

यीमध्ये सङ्घ सरकारको बजेटमा परेर पनि कार्यान्वयन हुन नसकेको बाग्लुङको बिहुँ–नरेठाँटी जोड्ने सुरुङ मार्ग प्रदेशको नीति तथा कार्यक्रममा पनि समेटिएको हो । वर्षौँदेखि चर्चामा रहेको यस सुरुङ मार्गको सम्भाव्यता अध्ययन हुन नसकिरहेका बेला प्रदेश सरकारले थप चार ठाउँमा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो ।

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्ने याे सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवमा ५० लाख रुपैयाँ बजेट छुट्याएकाे थियो । आव सकिनै लाग्दा पनि याे सुरुङ मार्ग आयोजनाको प्रारम्भिक अध्ययनसमेत हुन सकेको छैन । 

काठेखोला गाउँपालिका–५ बिहुँदेखि गलकोट नगरपालिका–२ नरेठाँटी जोड्ने याे सुरुङ मार्ग बनेमा लोकमार्गमा घण्टौँ लाग्ने यात्रा केही मिनेटमा छोट्टिनेछ । पर्यटक तथा नागरिकको आउजाउदेखि त्यस क्षेत्रको आर्थिक/सामाजिक विकासमा याे सुरुङ मार्गले महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ । 

बाग्लुङ–२ का सासंद देवेन्द्र पौडेलले बजेट अभाव देखाएर मन्त्रालयले काम अगाडि नबढाएको बताउनुभयो । 'रातो किताबमै परेको आयोजना हो, अहिलेसम्म अध्ययनको काम अगाडि बढ्नुपर्ने हो, तर मन्त्रालयले बजेटको समस्या देखाउने गरेको छ', उहाँले भन्नुभयो, 'यसमा हामीले पनि सुरुदेखि नै पहल गरिरहेका छौँ ।'

केही वर्षअघि परामर्शदाता कम्पनीका प्रतिनिधि आएर सुरुङ मार्ग बन्ने ठाउँको स्थलगत अवलोकन गरे पनि सम्भाव्यता अध्ययनको काम अघि नबढेको स्थानीयवासीको भनाइ छ । सङ्घ सरकारको प्राथमिकतामा परेको कास्कीको हेम्जा–नयाँपुल सुरुङ मार्गको पनि अझै विस्तृत सम्भाव्यता अध्ययन हुन सकेको छैन । 

पोखरा–बाग्लुङ राजमार्गमा पर्ने याे सुरुङ मार्ग बनेमा डेढ घण्टाको सडक मार्ग १५ मिनेटमा समेटिनेछ । अहिले हेम्जा–नयाँपुलको दूरी ४० किलाेमिटर छ । सुरुङ मार्गले त्यसलाई सातदेखि आठ किलाेमिटरमा घटाउने अनुमान गरिएको छ । यसले पोखरालाई पर्वतसहित धौलागिरिका चारै जिल्लासँग जोड्छ ।

सडक विभागका सुरुङ मार्ग हेर्ने इन्जिनियर सोनी श्रेष्ठले हेम्जा–नयाँपुल सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन छिट्टै सुरु हुने जानकारी दिनुभयो । 'पूर्वसम्भाव्यता अध्ययनको रिपोर्ट आइसकेको छ, अब विस्तृत सम्भाव्यता अध्ययनको काम अगाडि बढ्छ', उहाँले भन्नुभयो, 'अध्ययनमै समय लाग्छ, प्रतिवेदन आउनुपर्‍यो, सुरुङ मार्ग निर्माण कहिले र कसरी सुरु हुन्छ यसै भन्न सकिँदैन ।'

याे सुरुङ मार्ग अध्ययनका लागि सङ्घ सरकारले चालु आवमा एक करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको थियो । सुरुङ मार्ग अध्ययनका लागि परामर्शदाता कम्पनीसमेत छनोट भइसकेको विभागले जनाएको छ । यसरी नयाँनयाँ सुरुङ मार्गको सम्भाव्यता अध्ययनको घोषणा गर्ने तर समयमा कार्यान्वयन नहुने प्रवृत्तिप्रति नागरिक बेखुसी छन् ।  

घुमाउरा सडक भएका पहाडी भूगोलमा सुरुङ मार्ग निर्माण गर्ने सङ्घ सरकारको नीतिलाई प्रदेशले पनि पछ्याएको हो । सडक विभागले ‘सुरुङ मार्ग विकास कार्यक्रम’ मार्फत् सुरुङ मार्गको निर्माण र सम्भाव्यता अध्ययनको काम गर्दै आएको छ । 

स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा प्रदेश सरकारले सुरुङ मार्गदेखि गाँजा खेतीको सम्भाव्यता अध्ययनसम्मको योजना अघि सारेको हो । औषधिजन्य तथा उद्योगजन्य कच्चा पदार्थ उत्पादन प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरी आवश्यक कानुनी व्यवस्था गरिने नीति कार्यक्रममा उल्लेख छ ।  गाँजा र स्थानीय मदिरालाई ‘ब्राण्डिङ’ गरेर बजारमा बेच्ने प्रदेश सरकारको लक्ष्य छ । 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया