पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले पिछडिएका तथा आर्थिकरूपमा विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ ।
प्राधिकरणले मधेस प्रदेशमा पर्ने महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको हो । प्राधिकरणले देशभर रहेका आफ्ना वितरण केन्द्रहरूमार्फत विपन्न परिवारलाई निःशुल्क मिटर उपलब्ध गराएर विद्युत् जडान गरिदिँदै आएको छ ।
विपन्न परिवारले प्राधिकरणको मापदण्डअनुसारको ५–३० एम्पिएर क्षमताको बक्ससहितको सिङ्गल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क पाउने छन् । प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिँदैन । मिटरको एक हजार नाै सय ३५ रुपैयाँ, एमसीबीको मूल्य, अधिकतम दुई वटा पोल (झन्डै एक सय मिटरसम्मकाे) सर्भिस केबल, जडान गर्दा लाग्ने सेवा शुल्कसहित नयाँ मिटर जडान गर्दा प्रतिघर १२ हजारदेखि १५ हजार रुपैयाँ खर्च हुन्छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्रअन्तर्गतका पालिकाहरूमा बसोबास गर्ने विपन्न वर्गका परिपारलाई निःशुल्क मिटर वितरण गर्नुभयो । गौशाला र धनुषाधाम वितरण केन्द्रअन्तर्गतका क्रमशः ६८ र एक सय ६२ विपन्न परिवारलाई निःशुल्क मिटर वितरण गरिएको हो ।
कार्यकारी निर्देशक घिसिङले विद्युत् नै नपुगेका ठाउँहरूको खोजी गरी अहिले त्यस्ता ठाउँमा बसोबास गरिरहेका परिवारलाई विद्युत् पुर्याउन विद्युतीकरणको अन्तिम माइलको यात्रा चलिरहेको बताउनुभयो ।
‘विद्युत् पुगेका ठाउँको लोडशेडिङ अन्त्यको चरण पार गरी अहिले चाैबिसै घण्टा लोडशेडिङ भएका ठाउँमा विद्युत् पुर्याउने चरणको अन्त्यतिर छौँ, अहिले झन्डै ९६ प्रतिशत विद्युतीकरण भइसकेको छ, विद्युत् नै नपुगी सधैँ लोडशेडिङमा रहेका घरमा विद्युत् पुर्याउने कार्यलाई प्राथमिकतामा राखेर बढीमा दुई वर्षभित्रमा विद्युतीकरण गर्ने गरी अन्तिम माइलको यात्रामा छौँ, योसँगै विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तीय बनाउन प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचना विस्तार र सुदृढीकरण गरिरहेका छौँ’, घिसिङले भन्नुभयो ।
उहाँले थप्नुभयाे, ‘कोही नागरिक पनि विद्युत् उपभोगबाट वञ्चित हुनु नपरोस् भनेर विपन्न वर्गलाई निःशुल्क मिटर दिने व्यवस्था गरिएको हो, पैसा अभावमा मिटर राख्न नसकेपछि विपन्न वर्गले हुकिङ गरी विद्युत् प्रयोग गर्दै आएका थिए, निःशुल्क मिटर वितरणपछि चोरी नियन्त्रण भई विद्युत् चुहावट घट्ने र अनधिकृत प्रयोगमार्फत हुने विद्युतीय दुर्घटना कम हुने छ ।’
मधेसलाई चाँडै पूर्ण विद्युतीकरण भएको प्रदेश घोषणा गर्न लागिएको उल्लेख गर्दै विद्युत् नपुगेको ठाउँ भएमा तत्काल खबर गर्न र चुहावट नियन्त्रणमा सहयोग गर्न आग्रह गर्नुभयो । मधेस प्रदेशमा वैशाखसम्ममा वितरणतर्फको विद्युत् चुहावट १३ दशमलव २७ प्रतिशत छ ।
घिसिङले भन्नुभयो, ‘खेतखेतमा विद्युत् पुर्याएर सिँचाइमार्फत उब्जनी र उत्पादकत्व बढाउनुपर्छ, यसका लागि पालिकासँगको सहकार्यमा सिँचाइको विद्युतीकरण अगाडि बढाएका छौँ ।’
तराई/मधेस क्षेत्रमा सिँचाइको विद्युतीकरणका लागि धेरै माग आउने गरेको प्राधिकरणका मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले बताउनुभयो ।
एक सय केभीएसम्मका जुनसुकै ग्राहकका लागि र दुई सय केभीएसम्म दुग्ध चिस्यान केन्द्र, शीत भण्डार, सामुदायिक खानेपानी, सामुदायिक सिँचाइलाई प्राधिकरणकै ट्रान्सफर्मरबाट विद्युत् आपूर्ति दिने व्यवस्था गरिएको छ ।
मधेस प्रदेशका आठ वटा जिल्लामा प्राधिकरणका १० लाख ४४ हजार ग्राहकमध्ये गार्हस्थ्य ग्राहकको सङ्ख्या नाै लाख ३४ हजार छ । यसमध्ये घरमा पाँच एम्पियरको सिङ्गल फेज मिटर राखी मासिकरूपमा ३० रुपैयाँ तिर्ने र २० युनिट विद्युत् निःशुल्क पाउने ग्राहकको सङ्ख्या दुई लाख रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।