गण्डकी प्रदेशमा गाँजाखेतीका लागि सम्भाव्यता अध्ययन गरिने

 जेठ ३०, २०८० मंगलबार १२:१९:४३ | रासस
unn.prixa.net

फाइल तस्बिर

कास्की - गण्डकी प्रदेश सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा औषधिजन्य तथा उद्योगजन्य कच्चापदार्थ उत्पादन प्रयोजनका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययन गरी आवश्यक कानुनी व्यवस्था गरिने उल्लेख छ ।

सरकारले भाँगो, टुसा, निउरो, सिन्की, बाँको, टिमुर, सिस्नो, सिलाम र उच्च पहाडी तथा हिमाली भेगमा हुने आलु, उवा, कोदो, काउनो, फापर, जौ लगायतका उत्पादनलाई ब्राण्डिङ तथा बजारीकरणमा प्रोत्साहन गरिने नीति लिएको छ । 

भूमिको उत्पादनशीलता अभिवृद्धि गर्न जग्गाको वर्गीकरण, चक्लाबन्दी, यान्त्रिकीकरण, व्यवसायीकरणमा जोड दिइने उल्लेख गर्दै नीति तथा कार्यक्रममा उत्पादनको दिगोपना र निरन्तरताको लागि उत्पादनसँग अनुदानको आबद्धता कायम गर्दै लगिने भनिएको छ।

‘एक निर्वाचन क्षेत्र 'एक प्रविधिमैत्री स्मार्ट कृषि फर्म’को अवधारणा विकास गरी आवश्यक पूर्वाधारसहित सामूहिक कृषि विकास कार्यक्रम सञ्चालन गरिने सरकारको योजना छ । प्रदेशमा रहेकाे अनुसन्धानका निकायसँगको समन्वयमा कृषि क्षेत्रको टड्कारो समस्याका रूपमा रहेका विषयमा कार्यात्मक अनुसन्धान गरी समाधानका उपाय पहिचान तथा प्रसार गरिने जनाइएको छ ।

स्थानीयस्तरमा कृषि उपज उत्पादन गरी चिस्यान केन्द्रमा भण्डारण गर्ने किसानलाई निश्चित मापदण्डका आधारमा भण्डारण शुल्कमा सहुलियत प्रदान गर्ने व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ । 

प्रदेशमा उत्पादित कृषि उपजको बेचबिखनमा संलग्न व्यवसायीलाई प्रोत्साहन गरिने भन्दै सरकारले उत्पादित कृषि उपजको बजारीकरण तथा ढुवानी व्यवस्थापनका लागि पालिकासँग आवश्यक समन्वय गर्ने नीति लिइने जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया