१६ जिल्लाका एक हजारभन्दा धेरै बालबालिका दादुराबाट सङ्क्रमित

 जेठ ३१, २०८० बुधबार ९:३८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – दादुराबाट १६ जिल्लाका एक हजारभन्दा धेरै बालबालिका सङ्क्रमित भएका छन् । स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाका अनुसार मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाण्डौ, कपिलवस्तु, अर्घाखाची, दाङ, बाके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा दादुराको संक्रमण पुष्टि भएको छ ।

यी १६ जिल्लामध्ये बाँके, कैलाली, सुनसरी र महोत्तरीमा जोखिम धेरै रहेको परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालले बताउनुभयो । उहाँका अनुसार प्रकोप धेरै देखिएका यी चार जिल्लामा दादुरा विरुद्धको खोप लगाउन छुटेका २ लाख १५ हजार भन्दा धेरै बालबालिकालाई खोप दिइएको छ । छुटेका अन्य बालबालिकाको पनि खोजी भइरहेको छ ।

यस्तै, अहिले खोप अभियान चलिरहेको ९ जिल्ला  मोरङ, सुनसरी, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा पनि खोप लगाउन छुटेका बालबालिकाको खोजी भइरहेको छ । यी जिल्लाका १६ लाख ८० हजार भन्दा धेरै बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालले बताउनुभयो । उहाँका अनुसार दादुराको संक्रमण रोकथामका लागि जोखिममा रहेका बालबालिकालाई खोप लगाउनुपर्छ । दादुराको संक्रमण भइसकेकालाई भने खोप दिनु हुँदैन । उनीहरुको स्वास्थ्यमा देखिएको लक्षणका आधारमा उपचार गर्नु पर्ने डाक्टर लालले जानकारी दिनुभयो ।

ज्वरो आएको छ भने ज्वरोको र निमोनिया भएको छ भने त्यसकै उपचार गर्नु पर्ने डाक्टर विवेककुमार लालले बताउनुभयो । ज्वरो आउनु, नाकबाट सिँगान बगिरहनु, शरीरमा बिबिरा देखिनु दादुराको लक्षण भएकाले यस्ता लक्षण देखिने बित्तिकै स्वास्थ्य परीक्षण गराउन र डाक्टर तथा स्वास्थयकर्मीको सल्लाह अनसुार उपचार गर्न उहाँको सुझाव छ । यस्तै, दादुराको संक्रमण भएका बालबालिकालाई घरका अरु परिवारका सदस्य भन्दा छुट्टै राखेर हेरचाह र उपचार गर्न पनि डाक्टरको सल्लाह छ ।

दादुरा निकै संक्रामक रोग भएकाले संक्रमितको हेरचाह र स्याहार गर्ने व्यक्तिलाई मास्क तथा पञ्जा लगाउन पनि डाक्टरको आग्रह छ । दादुरा रोकथामका लागि दादुरा विरुद्धको खोप नै उत्तम विकल्प भएकाले ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोपबाट नछुटाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गर्दै आएको छ । नेपालले सन् २०१९ सम्ममा दादुरा उन्मूलन गर्ने लक्ष्य राखेता पनि बेलाबेलामा प्रकोप देखिएकाले सन् २०२३ सम्ममा उन्मुलन गर्ने लक्ष्य सारिएको थियो । तर यही समयमा फेरि दादुराको सङ्क्रमण फैलिन थालेको छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया