बाढी पहिरोबाट बेपत्ता भएकाहरुको खोजी चल्दै

 असार ४, २०८० सोमबार ७:५०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सङ्खुवासभा, ताप्लेजुङ र पाँचथरमा शनिवार रातिको बाढीपहिरोमा बेपत्ता हुनेहरुको अवस्था अझै थाहा हुन सकेको छैन ।

बेपत्ताको खोजी भैरहेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी ऋषिराम कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीपहिरोमा परेर  सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर र धनकुटामा ४ जनाको ज्यान गएको छ भने २८ जना बेपत्ता भएका छन् । अरु चार जना घाइते छन् ।

पाँचथरमा दुई तथा सङ्खुवासभा र ताप्लेजुङमा एक–एक जनाको ज्यान गएको हो । धनकुटाको छथर जोरपाटीमा तमोर नदी किनारमा हिजो बेलुकी एक महिलाको शव फेला परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सङ्खुवासभामा २१, पाँचथरमा ४ र ताप्लेजुङमा ३ जना बेपत्ता छन् । यी जिल्लामा दर्जनौं घर क्षतिग्रस्त भएका छन् । सडक, पुल र जलविद्युत् आयोजनामा क्षति पुगेको छ । कोशीका विभिन्न जिल्लामा २० घर बगाएको र आठ घरमा आंशिक क्षति पुगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार सङ्खुवासभामा १० घर बाढीपहिरोले बगाएको र आठ घरमा आंशिक क्षति पुगेको छ । पाँचथरमा १० घर बगाएको  छ । पाँचथरका ३१ घरपरिवार विस्थापित भएका छन् । सङ्खुवासभाको पाँचखपन नगरपालिका– ४ र चैनपुर नगरपालिका– ९ को बीचमा पर्ने हेवाखोलाको बाढीले बढी क्षति पुर्याएको छ ।

बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी, सशस्त्र प्रहरी र कर्मचारीसमेत खोज, उद्धार र राहतको काममा सक्रियताका साथ लागेको सरकारले  जनाएको छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया