बजेट पुस्तिकामा अङ्कको सट्टा प्रदेशको नाम राख्न सभामुखको निर्देशन

 असार ५, २०८० मंगलबार १५:५४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सभामुख देवराज घिमिरेले आउँदाे आर्थिक वर्षको बजेटमा प्रदेशको नामको सट्टा अङ्क उल्लेख भएकामा त्यसलाई सच्याउन सरकारलाई निर्देशन दिनुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा आउँदाे आर्थिक वर्षको विनियोजन विधेयकमा प्रदेशको नाम नखुलेको भन्दै सांसदहरुले विरोध जनाएका थिए । विरोधपछि केही बेरका लागि स्थगित बैठक सभामुखको यस्तो निर्देशन दिएपछि पुनः सुरु भएकाे हाे । 

'सम्बन्धित मन्त्रालयबाट वार्षिकरूपमा सम्पादन हुने कार्यक्रम समावेश हुने पुस्तिकामा उल्लिखित केही विषयहरु, खासगरी प्रदेश सभाबाट पारित प्रदेशको नाम उल्लेख हुनुपर्नेमा त्याे नभएको विषयमा ध्यानाकर्षणसहित सच्याउनका लागि म पुनः निर्देशन गर्दछु', उहाँले भन्नुभयो, 'प्रदेशको नाम हुनुपर्नेमा अङ्क उल्लेख भएको र यस विषयमा सांसदहरुले प्रश्न उठाइसकेपछि अङ्कको सट्टा प्रदेशको नाम राखेर सुधार गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन गर्दछु ।'

उहाँले प्रतिनिधि सभाको सोमवारको बैठकमा पनि यस्तो निर्देशन दिनुभएकामा सच्याइएको विनियोजन विधेयकमा पनि फेरि प्रदेशको नामको सट्टा अङ्क उल्लेख भएको भन्दै सांसदहरूले आपत्ति जनाएका थिए ।

सांसद सूर्यबहादुर थापा क्षेत्री, छविलाल विश्वकर्मा, रमेश लेखक, रघुजी पन्तलगायतले विधेयकमा प्रदेशको नाम उल्लेख नभएको विषय उठाएका हुन् । विनियोजन विधेयकमा प्रदेशको नाम उल्लेख नभएकामा त्यसलाई सच्याएर ल्याउन सभामुखमार्फत् रुलिङ गर्न सांसदहरुले माग गरेपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको थियो । पन्ध्र मिनेटका लागि स्थगित भएको बैठक करिब दुई घण्टा ढिलो गरी पुनः सुरु भयाे ।

प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत चार मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल सुरु गर्ने कार्यसूची छ । प्रतिनिधि सभाको आजको बैठकमा सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसम्बन्धी विनियोजित  शीर्षकमाथि समूहगतरूपमा छलफल चल्नेछ ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया