चट्याङ लागेर दाङ र बाग्लुङमा गरी चार जनाको ज्यान गयो, वैशाखयता १७ जनाले ज्यान गुमाए

 असार १०, २०८० आइतबार ७:३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यसवर्ष वैशाखयता चट्याङ लागेर १७ जनाको ज्यान गएको छ । ८४ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख १ गतेदेखि अहिलेसम्म चट्याङका एक सय वटाभन्दा धेरै घटना भएका छन् ।

हिजो एकैदिन दाङ र बाग्लुङमा चट्याङ लागेर चार जनाको ज्यान गएको छ । चट्याङ लागेर दङ्गीशरण गाउँपालिका–६ बागरका ३२ वर्षीय समिर केसी र दङ्गीशरण गाउँपालिका–३ चखौराका ३७  वर्षीय रामनारायण चौधरी (वीरेन्द्र) को ज्यान गएको हो । दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

यस्तै, बाग्लुङको ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा चट्याङ पर्दा ६ वर्षीय छोरा दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको ज्यान गएको हो । चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते हुनुभएकाे जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।

मौसमविद्का अनुसार प्रि–मनसुनमा चट्याङ धेरै पर्ने भए पनि अहिले मनसुन सुरु भइसक्दा पनि छिटपुट घटना भइरहेका छन् । चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भएर घाइते हुने तथा ज्यान नै जाने खतरा हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो । अझै दुई–तीन महिना चट्याङ पर्ने सम्भावना उच्च हुने भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ ।

चट्याङ पर्ने समयमा खेतबारीको काममा नजान र गड्याङगुडुङको आवाज सुनेपछि घरभित्र वा सुरक्षित ठाउँमा बस्न विज्ञको सुझाव छ । चट्याङ पर्दा सबै विद्युतीय उपकरणलाई बन्द गर्नुपर्छ । यस्तो बेला मोबाइल नचलाउन, चार्ज नगर्न तथा पानीबाट पनि टाढा बस्न विज्ञको सुझाव छ । विज्ञका अनुसार पानीले पनि विद्युत् प्रवाह गर्ने भएकाले चनाखो हुनुपर्छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया