नयाँ व्यवस्थाअनुसार नागरिकता वितरण शुरु

 असार १०, २०८० आइतबार ७:३९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - जन्मसिद्ध नेपाली नागरिकका सन्तानले नागरिकता पाउने नयाँ व्यवस्थाको कार्यान्वयन शुरु भएको छ । गएको बिहीवार सर्वोच्च अदालतले नागरिकता संशोधन ऐन कार्यान्वयन गर्ने बाटो खुला गरिदिएपछि नयाँ व्यवस्थाअनुसार नागरिकता दिन थालिएको हो ।

केही जिल्लाले अस्ति शुक्रवारदेखि नै जन्मसिद्धका सन्तानलाई नागरिकता वितरण थालेका र धेरै जिल्लाले आजदेखि शुरु गर्ने गृह मन्त्रालयले जनाएको छ । जन्मसिद्धका नागरिकका सन्तानले वंशजको नागरिकता पाउने स्पष्ट व्यवस्था ऐनमा भएकाले नियमावली पर्खन नपर्ने गृह मन्त्रालयको भनाइ छ ।

लामो समयदेखि विवादमा रहेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन कार्यान्वयनको बाटो खुला भएको हो । नयाँ कानुनले जन्मसिद्ध नेपाली नागरिकका सन्तानले नागरिकता पाउने बाटो खुला गरेको छ । २०४६ चैतसम्म नेपालभित्र जन्मिएका व्यक्तिले २०६४ को संविधानसभा चुनावअघि निवेदन दिएका आधारमा नेपालको जन्मसिद्ध नागरिकता पाएका थिए । तर, त्यतिबेला तिनका सन्तानको विषयमा कुनै व्यवस्था गरिएको थिएन, यो ऐनले जन्मसिद्धका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था गरेको छ ।

ऐनमा ‘२०७२ असोज ३ अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ’ भनिएको छ ।

नागरिकता ऐनमा गरिएको नयाँ व्यवस्थाअनुसार करिब ५ लाखले नागरिकता लिने अनुमान छ । नयाँ ऐनले आमाका नामबाट पनि नागरिकता प्राप्त गर्ने बाटो खुकुलो गरेको छ तर त्यसका लागि बाबुका विषयमा आमाले स्वघोषणा गर्नुपर्ने विभेदकारी व्यवस्था पनि राखेको छ ।

यो कानुनअनुसार नेपालको नागरिक आमाबाट नेपालमा नै जन्म भइ नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिका हकमा निजको बाबुको पहिचान हुन नसकेको बेहोराको निज र निजको आमाले तोकिएबमोजिमको स्वघोषणा गर्नुपर्नेछ । यसरी आमाका नामबाट नागरिकता प्रदान गर्दा स्वघोषणा गर्नुपर्ने व्यवस्थाको विरोध भैरहेको छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Bhaban budha

    June 27, 2023, 9:58 a.m.

    तृआह

  •  0 Reply
  • बाबुराम तिवारि

    June 26, 2023, 6:23 p.m.

    भ्रष्ट नेताहरुलाइ घुस लिएर बिदेसि लाई नागरिकता दिने बाटो खुल्यो

  •  0 Reply

तपाईको प्रतिक्रिया