नदीजन्य पदार्थकाे उत्खनन तथा ठेक्कामा अनियमितता, तत्कालीन मेयरसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

 असार १०, २०८० आइतबार १८:२०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन मेयर सुरेन्द्रबहादुर विष्ट र प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

महाकालीको नदीजन्य पदार्थ उत्खनन तथा ठेक्कापट्टामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मेयर विष्टसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७७/७८ मा भीमदत्त नगरपालिका भएर बग्ने महाकाली नदीको नदीजन्य पदार्थ उत्खनन तथा बिक्रीका लागि लगाइएको ठेक्कामा कम कबोल गरी सरकारलाई प्राप्त हुने राजस्व हिनामिना गरेको पाइएकोले मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

अख्तियारले हिनामिना भएको राजस्वलाई बिगो कायम गरी दोब्बर जरिबाना र कैद सजाय मागदाबी गरेको छ । मेयर विष्ट र प्रमुख प्रशासकीय अधिकृत भट्टविरुद्ध तीन करोड ३३ लाख २२ हजार पाँच सय ८३ रुपैयाँ बिगो, बिगोको दोब्बर जरिबाना तथा आठदेखि १० वर्षसम्म कैद सजाय मागदाबी भएको छ ।

यस्तै अख्तियारले निमित्त प्रमुख प्रशासकीय अधिकृत जोशीविरुद्ध दुई करोड ११ लाख ६५ हजार छ सय आठ रुपैयाँ बिगो दोब्बर जरिबाना र कैद सजायको पनि माग गरेको छ । राजस्व छुटका लागि गठित कार्यदल संयोजक तथा सदस्यहरू वडा नम्बर १७ का अध्यक्ष हिमालबहादुर चन्द, प्रशासकीय अधिकृत हरिसिंह धामी र शाखा अधिकृत नरबहादुर शाह तथा राजस्व छुट कार्यदलका सदस्य इन्जिनियर हिमालयसिंह ऐर र सम्झौतामा साक्षी बस्ने गाेविन्दराज उपाध्यायविरुद्ध छुट्टाछुट्टै सजाय मागदाबी भएको छ ।

जनप्रतिनिधि र कर्मचारीलाई आर्थिक प्रभावमा पारेर रोयल्टी हिनामिना गरेकोमा भवानी कन्स्ट्रक्शनका सञ्चालकहरूलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया