पूर्वी नेपालको कोसेली निगुरो

 असार १३, २०८० बुधबार १०:५४:३६ | रासस
unn.prixa.net

काठमाण्डौ – सहरी श्रेत्रमा माग बढेसँगै जङ्गलमा निगुरो टिप्नेको सङ्ख्या ह्वात्तै बढेको छ । अर्गानिक तरकारीका रूपमा परिचित निगुरो पूर्वी नेपालका जङ्गलमा प्रशस्त मात्रामा पाइन्छ । 

मोरङको पथरी, कानेपोखरी, लेटाङ, भाउन्ने, बेलबारीलगायत सामुदायिक वनमा निगुरो टिप्न बिहानैदेखि साँझसम्म स्थानीयको भिड लाग्छ । सयौँ परिवारको गुजारा निगुरो टिपेरै चलेको छ । राजमार्ग आवतजावत गर्ने यात्रुको कोसेलीको रोजाइमा परेको छ यहाँको निगुरो ।

बेलबारी–१० भाउन्नेकी आच्छामाया राई ६८ वर्ष पुगिसक्नुभएको छ । तर उहाँ दैनिक ३० देखि ४० मुठासम्म निगुरो टिप्दैआउनुभएको छ ।  निगुरो २५ रुपैयाँ प्रतिमुठा बेच्ने गरेको राई बताउनुहुन्छ । उहाँजस्तै सयौँ महिला यस क्षेत्रमा निगुरो टिपेरै आम्दानी गरिराख्नुभएको छ । 

भाउन्नेमा विगत २८ वर्षदेखि निगुरोको व्यापार गर्दै आउनुभएकी भद्रमाया भट्टराईका अनुसार केही वर्ष अघिसम्म अहिलेको जस्तो निगुरो काठमाण्डाै पठाइन्नथ्यो । ‘बजारको खोजीमा इटहरी, दमक, बिर्तामोडसम्म पुर्याउनुपर्थ्याे तर अहिले अरुले टिपेर ल्याएको निगुरो हामीले सङ्कलन गर्छौँ र हामीबाट काठमाण्डाैका व्यापारीले किनेर लैजान्छन्,’ भद्रमाया भन्नुहुन्छ । 

यस क्षेत्रबाट दैनिक निगुरो राजधानीलगायत अन्य सहरमा बिक्रीका लागि लैजाने गरेका लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउनुहुन्छ । वार्षिक झण्डै एक करोड रुपैयाँभन्दा बढीको निगुरो यहाँबाट बिक्रीका लागि लैजाने गरिएको छ । मोरङमा एक सय ३४ सामुदायिक वन छन् । पथरी, बेलबारी, कानेपोखरी र सुन्दरहरैँचाका सामुदायिक वनमा धेरै मात्रामा निगुरो पाइन्छ । 

जिल्ला वन कार्यालय मोरङका डिभिजन वन अधिकृत विष्णुलाल घिमिरे निगुरोसम्बन्धी कार्यक्रम सामुदायिक वनको कार्ययोजनामै राख्न लगाउने बताउनुहुन्छ । चैत दोस्रो हप्तादेखि जङ्गलमा टिप्न मिल्ने निगुरो असोज अन्तिमसम्म टिप्न सकिन्छ । तर यो वर्ष निगुरो सुक्खा खडेरीले गर्दा वैशाखसम्म पलाउन सकेको थिएन । 

कृषिविज्ञ डा राजेन्द्र उप्रेतीका अनुसार निगुरो एक उन्यू प्रजातिको वनस्पति भएकाले यसले चिस्यान क्षेत्र रोज्ने गरेको र त्यस क्षेत्रमा मात्र राम्ररी फस्टाउँछ । समयमा पानी नपरेर जमिन सुक्खा हुँदै गएमा निगुरो मासिन सक्ने डा. उप्रेती बताउनुहुन्छ । निगुरोमा प्रोटिन, भिटामिन, क्याल्सियमलगायत पोषकतत्व पाइन्छ । 

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया