विद्युत् प्राधिकरणका देशभरका कार्यालयले १ लाखभन्दा बढी बिरुवा राेपे

 साउन १५, २०८० सोमबार १३:४०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले आफ्नो ३८ औँ वार्षिकोत्सवको अवसरमा देशभरका कार्यालयहरूमार्फत सोमवार वृक्षरोपण गरेको छ ।

प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालय, वितरण केन्द्र/उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालय, सबस्टेशन कार्यालय, उत्पादन सेवा अन्तर्गतका विद्युत् उत्पादन गृहमा कार्यरत कर्मचारीले आफ्नो कार्यालय परिसर तथा अन्य उपयुक्त ठाउँहरूमा वृक्षरोपण गरेका हुन् । कार्यालयहरूले आ–आफ्नो क्षेत्रको हावापानी र माटो अनुरूपका एक लाखभन्दा बढी फलफूल तथा अन्य प्रजातिका बिरुवा रोपेका छन् ।

जलविद्युत्, प्रसारण र वितरणतर्फका आयोजनाहरूको निर्माण गर्दा रुख काट्ने मात्र नभई रुख बिरुवाको संरक्षण पनि गरिन्छ भन्ने सन्देश दिन प्राधिकरणले हरेक वर्ष साउन १५ गते देशभरका कार्यालयमार्फत वृक्षरोपण गर्ने गरेकाे छ ।

प्राधिकरणको प्रधान कार्यालय तथा वृक्षरोपण गर्ने ठाउँ नभएका काठमाण्डाै उपत्यकाभित्रका कार्यालयहरूमा कार्यरत कर्मचारीले नेपालको पहिलो तथा ऐतिहासिक फर्पिङ जलविद्युत् केन्द्र परिसरमा बिरुवा रोपेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवम् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शक्तिबहादुर बस्नेतले केन्द्र परिसरमा नास्पातीको बिरुवा रोपी वृक्षरोपण कार्यको शुरुवात गर्नुभएको थियो । मन्त्रालयका सचिव एवम् प्राधिकरण सञ्चालक समितिका सदस्य दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कर्मचारीबाट विभिन्न प्रजातिका तीन सयभन्दा बढी बिरुवा रोपिएको छ । नास्पातीको पकेट क्षेत्रको रूपमा रहेका फर्पिङमा धेरैजसाे बिरुवा त्यसकै रोपिएका छन् ।

कार्यक्रममा मन्त्री बस्नेतले वृक्षरोपण गरिएका बिरुवाको संरक्षण सबैभन्दा महत्त्वपूर्ण भएकाले त्यतातर्फ विशेष ध्यान दिन निर्देशन दिनुभयो । वातावरण संरक्षण र विकासलाई एक अर्कार्को विरोधीको रूपमा चित्रण हुने गरेको उल्लेख गर्दै उहाँले वृक्षरोपणले दुई विषय आपसमा विरोध हैनन् भन्ने सकारात्मक सन्देश जाने बताउनुभयो ।

सचिव घिमिरेले वृक्षरोपण गरिएका बिरुवाहरूलाई त्यतिकै नछाडेर हेरचाह र संरक्षण गर्न आग्रह गर्नुभयो । कार्यकारी निर्देशक घिसिङले आउँदाे वर्षदेखि जलविद्युत् आयोजनाहरूको जलाधार क्षेत्रमा वृक्षरोपण गरिने बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया