मलकाे अभाव छैन, कुन डिपाेमा कति छ भन्न सक्छाैँ : कृषिमन्त्री

 साउन १५, २०८० सोमबार १८:१३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले सरकारसँग दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताउनुभएको छ ।

साेमवार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री भुसालले सरकारसँग दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको भन्दै मल अभाव नरहेको बताउनुभएको हो । उहाँले सङ्घीय सरकारले रासायनिक मल आयात गरेर वितरणको जिम्मा पालिकालाई दिए पनि उनीहरूले राम्रो काम गर्न नसकेको दाबी गर्नुभयाे । पालिकाले सिफारिस गरेर मल वितरणको जिम्मा पाएका सहकारी संस्थाले नै घोटला गरेको उहाँकाे आराेप थियाे ।

उहाँले भन्नुभयाे, ‘दुई सय ८४ मेट्रिक टन रासायनिक मल सरकारसँग मौज्दात रहेको छ । कुन डिपोमा कति छ भन्ने समेत दिन सक्छौँ । अभाव छैन । सङ्घीय सरकारले मल आयात गर्ने मात्रै हो । वितरण गर्ने जिम्मा पालिकालाई दिएका छौँ । मल वितरणमा पालिकाले राम्रो भूमिका खेलेका छैनन् । पालिकाले मल वितरणका लागि सिफारिस गरेका सहकारीहरूले मलमा घोटला र कालोबजारी गरेका छन् । मलमा गडबडी गर्नेहरूलाई स्थानीय प्रसाशन लगाएर पक्राउ गरिएको पनि छ ।’

मन्त्री भुसालले काभ्रे, पाल्पा, इलाम,कपिलवस्तुलगायतका जिल्लाहरूमा मल वितरणमा बदमासी गर्नेहरूलाई कारबाही गरेको बताउनुभयो । सरकारले यो वर्ष ल्याउनुपर्ने सबै मल आइसकेको भन्दै २५ हजार मेट्रिक टन मल बाटोमा रहेको उहाँकाे भनाइ छ ।

भुसालले समयमा मल आयात हुन नसकेर अभाव सिर्जना भएको भन्दै समयमा मल नआउनुको मुख्य कारण समयमा बजेट नपाउनु भएको बताउनुभयो । उहाँले खरिद र ढुवानी प्रक्रियाका लागि लामाे समय लाग्ने र बजेट नहुँदा समस्या हुने बताउनुभयो । उहाँले मल कारखाना बनाउने विषयमा भने गम्भीर समिक्षा गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया