लम्पी स्किन रोगका कारण पीडित भएका किसानलाई राहत दिने सरकारको तयारी

 साउन १६, २०८० मंगलबार ७:३७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले देशभर फैलिएको लम्पी स्किन रोगका कारण पीडित भएका किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाएको छ । आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट राहतसम्बन्धी आवश्यक निर्णय गर्ने तयारी छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महामारी प्रभावित किसानलाई राहत दिन र त्यसको आवश्यक गृहकार्य गर्न कृषि मन्त्रालयलाई निर्देशन दिनुभएको थियो । प्रधानमन्त्री प्रचण्डले लम्पी स्किनको बारेमा कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गर्दै आउनुभएको छ ।

छलफलबाट किसानलाई राहत दिने निर्णयको अन्तिम प्रक्रियामा रहेको कृषि मन्त्रालयले जनाएको छ । पीडित किसानलाई राहतका साथै अहिले निःशुल्क रुपमा गोटपक्स भ्याक्सिन सङ्घ, प्रदेश र पालिकाले उपलब्ध गराउने गरी तयारी छ ।

लम्पी स्किनले महामारीको रूप लिँदा पनि सरकारले प्रभावकारी कदम नचालेको भन्दै किसानले आन्दोलन गर्दै आएका छन् । उनीहरुले लम्पी स्किनलाई महामारी घोषणा गर्न र क्षतिपूर्ति दिन पनि माग गर्दै आएका छन् ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार अहिले देशभर ११ लाखभन्दा धेरै पशुचौपाया लम्पी स्किन रोगबाट प्रभावित भएका छन् । तीमध्ये आठ लाख ६७ हजार पशु चौपाया निको भैसकेका छन् । बितेका पाँच महिनामा झण्डै ५० हजार पशुचौपाया मरेका छन् । अहिले पनि झण्डै दुई लाखको सङ्ख्यामा पशु चौपाया सक्रिय सङ्क्रमित रहेका छन् ।

मरेका र सङ्क्रमित गरी पशु चौपायामा ३० अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । यो रोगबाट गोरु सङ्क्रमित हुँदा कतिपय जिल्लामा धान रोपाइँसमेत प्रभावित भयो । त्यस्तै, दूध उत्पादनमा समेत असर परेको छ । पशु सेवा विभागका अनुसार ३ लाख ५० हजारभन्दा धेरै पशुमा लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा हिजो मुख्य सचिव बैकुण्ठ अर्यालले लम्पी स्किन विरुद्धको खोपको व्यवस्थापन गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन समेत दिनुभएको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Manoj kumar giri

    Aug. 1, 2023, 5:12 p.m.

    वास्तविक किसान ले पाउनु पर्यो झोले ले होइन !

  •  0 Reply
  • Taraman Tamang

    Aug. 1, 2023, 2:05 p.m.

    धेरै गाह्रो छ है बोल्नु र काम गर्नु मा किसानले पाउने कुरा म सहमत छु

  •  0 Reply

तपाईको प्रतिक्रिया