भारतको अनुदानमा निर्माण हुने परियोजनामा समझदारी

 साउन २०, २०८० शनिबार ८:३५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा क्षेत्रका तीन र खानेपानी आपूर्ति तथा सरसफाइको एक गरी चार परियोजनामा समझदारी भएको छ ।

नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपालमा रहेको भारतीय दूतावासबीच सामुदायिक विकास परियोजनाको निर्माण अघि बढाउने समझदारी भएको हो । यी चार परियोजनाको अनुमानित लागत १७ करोड रहेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाको गलैनाथ माध्यमिक विद्यालयको भवन निर्माण, व्याँस गाउँपालिकाको हिमालय माध्यमिक विद्यालयको भवन निर्माण, सङ्खुवासभाको चिचिला गाउँपालिकाको दिदिङ प्राथमिक विद्यालयको भवन निर्माण र उदयपुरको त्रियुगा नगरपालिकामा रहेको श्रीपुर खानेपानी आपूर्ति तथा सरसफाई परियोजनाको कार्यान्वयन क्रमशः शैल्यशिखर नगरपालिका, व्याँस गाउँपालिका, चिचिला गाउँपालिका र त्रियुगा नगरपालिकाले गर्नेछन् ।

यी परियोजनाको निर्माणले स्थानीय समुदायका लागि गुणस्तरीय शिक्षा र खानेपानी तथा सरसफाइ सुविधा उपलब्ध गराउनुका साथै जीवनस्तरमा सुधार ल्याउने अपेक्षा छ । सन् २००३ यता भारतले नेपालका सातवटै प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइका क्षेत्रमा र अन्य सार्वजनिक सुविधाको निर्माणमा पाँच सय ४६ उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ ।

यसमध्ये चार सय ८३ वटा परियोजना सम्पन्न भइसकेका छन् भने बाँकी ६३ वटा परियोजना निर्माणाधीन अवस्थामा छन् । सबै परियोजनाको कूल लागत झण्डै १२ अर्ब २० करोड रहेको छ । यी परियोजना धेरैजसो नेपाल सरकारको स्थानीय निकायमार्फत कार्यान्वयनमा छन् । 
 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया