आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै : कोशी प्रदेशमा सार्वजनिक बिदा

 साउन २४, २०८० बुधबार ७:२४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा जोड दिएर यस वर्षको दिवस मनाउन लागिएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ ।

दिवसका अवसरमा जनजाति आयोगले बानेश्वरमा र आदिवासी जनजाति महासङ्घले नेपाल प्रज्ञा–प्रतिष्ठानमा कार्यक्रमको आयोजना गरेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले पनि कार्यक्रम गर्दैछ ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि सारेको थियो ।

संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।

आदिवासी जनजाति ऐन २०७४ अनुसार आदिवासी जनजाति भन्नाले आदिवासी जनजाति आयोगको सिफारिसमा नेपाल सरकारले तोकेको जाति वा समुदायलाई बुझाउँछ ।

आयोगमा अहिलेसम्म विभिन्न ६० वटा आदिवासी जातजाति सूचीकृत छन् । तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा नेपालमा १ सय ४२ जातजाति रहेका छन् ।

यसैबीच कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । विश्व आदिवासी तथा जनजाति दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया