आज राष्ट्रिय सूचना दिवस : सूचनाको हक कार्यान्वयनमा जिम्मेवार बन्न सार्वजनिक निकायलाई आह्वान

 भदौ ३, २०८० आइतबार ७:५३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज राष्ट्रिय सूचना दिवस मनाइँदैछ । नेपालको संविधानको धारा २७ बमोजिम सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भइ कार्यान्वयनमा आएको दिन भदौ ३ गतेलाई राष्ट्रिय सूचना दिवसका रूपमा मनाउने गरिन्छ ।

राष्ट्रिय सूचना आयोगले १७औँ राष्ट्रिय सूचना दिवसका अवसरमा प्रतिबद्धतापत्र जारी गरी सूचनाको हकको कार्यान्वयनमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्न/गराउन सार्वजनिक निकायलाई आह्वान गरेको छ ।

सूचनाको हकसम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न/गराउन सार्वजनिक निकायको भूमिका महत्त्वपूर्ण हुने र माग गरिएको सूचना सहज रूपमा प्राप्त गर्दा सार्वजनिक निकायप्रति नागरिकको धारणा सकारात्मक हुने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

नागरिकलाई प्राप्त अधिकारमध्ये सूचनाको हक सबैभन्दा महत्त्वपूर्ण रहेको र यसको प्रयोग दिनानुदिन बढ्दै गएको आयोगको भनाइ छ । दिवसका अवसरमा शुभकामना व्यक्त गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकको महत्त्वपूर्ण अधिकारका रूपमा सूचनाको अधिकारलाई ग्यारेन्टी गर्ने सूचनाको हक सम्बन्धी कानुन निर्माण भएको १६ वर्ष पूरा भए पनि नागरिकले जुन रूपमा यो अधिकारको व्यापक प्रयोग  गर्नुपर्ने  हो त्यसो  हुन  नसकेको बताउनुभएको छ  ।

उहाँले कुनै  पनि  लोकतान्त्रिक व्यवस्थामा  नागरिक  अधिकारका  रूपमा  सूचनाको अधिकार सुनिश्चित गर्नुको अर्थ राज्यका विभिन्न अङ्ग राजनीतिक दल, सङ्घ संस्थासहित हरेक सार्वजनिक निकायका काम कारबाहीमा नागरिकको निगरानी र खबरदारी बढाउनु रहेको बताउनुभयो । उहाँले नागरिक र सार्वजनिक निकायलाई सूचनाको हकप्रति थप क्रियाशील रहन आह्वान समेत गर्नुभएको छ ।

त्यस्तै, राष्ट्रिय सूचना आयोगका आयुक्त कमला ओली थापाले सुशासन कायम गरी देशलाई समृद्धिको बाटोमा लैजान यसको प्रयोग महत्त्वपूर्ण हुने भएकाले सबै सार्वजनिक निकाय जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको छ ।

आयोगले गएको आर्थिक वर्ष २०७९/८० मा ९९ प्रतिशत उजुरी फर्स्याेट गरेको पनि जनाएको छ । गएको वर्ष आयोगमा एक हजार ६८ पुनरावेदन र छ वटा उजुरी प्राप्त भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७९/८० मा सूचना उपलब्ध नगराउने चार वटा सार्वजनिक निकायका कार्यालय प्रमुखलाई जरिबाना गरिएको छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया