ललिता निवास जग्गा प्रकरण : ४ पूर्वमन्त्रीसहित २ सय ९० जनाविरुद्ध मुद्दा दर्ता

 भदौ १०, २०८० आइतबार १३:३०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बालुवाटारकाे प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्‍याएकाे भन्दै दुई सय ९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

ललिता निवास जग्गा प्रकरणमा किर्तेसम्बन्धी मुद्दामा चार पूर्वमन्त्री, छ पूर्वसचिवसहित दुई सय ९० जनालाई प्रतिवादी बनाएर १८ अर्ब रुपैयाँ बिगो दाबीसहित आज आइतवार सरकारी वकिल कार्यालयले काठमाण्डाै जिल्ला अदालतमा मुद्दा दायर गरेकाे हाे । कार्यालयले पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जय साहलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेकाे हाे । यस्तै पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, युवराज भुसाल, नारायणगोपाल मलेगो र रविन्द्रमान जोशीलाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता भएकाे छ ।

त्यस्तै ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ । उनीहरूमाथि किर्तेको अभियोग भने छैन तर किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।

सरकारी वकिल कार्यालयले सरकारी दस्तखत तथा लिखत किर्तेको कसुरमा संलग्न भएको देखिएका सर्वसाधारणविरुद्ध एक वर्ष कैद सजाय माग दाबी गरेको छ । सरकारी अधिकारी र मन्त्रीहरूलाई दुई वर्ष कैदको सजाय माग दाबी गरिएको छ ।

सरकारी लिखत तथा दस्तखत किर्ते गरी एक सय ४३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाउने सङ्गठित रूपमा काम भएको निष्कर्षसहित प्रहरीकाे केन्द्रीय अनुसन्धन ब्युराे (सीआईबी) ले सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सीआईबीले सङ्गठित अपराध र किर्तेको कसुरमा दुई सय ८६ जनालाई प्रतिवादी बनाउन राय दिएको थियो । सीआईबीले सरकारी किर्ते र सङ्गठित अपराधमा अनुसन्धान गरे पनि सरकरी वकिल कार्यालयले सरकारी किर्तेमा मात्र मुद्दा दर्ता गरेको हो ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया