बाढीले प्रभावित कागबेनीको बस्ती पुनर्निर्माण सरकारकाे प्राथमिकतामा : गृहमन्त्री श्रेष्ठ

 भदौ १९, २०८० मंगलबार १३:४:१४ | रासस
unn.prixa.net

फाइल तस्बिर

म्याग्दी - उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीले प्रभावित पारेकाे मुुस्ताङको कागबेनी बस्ती पुुनर्निर्माणको कामलाई सरकारले प्राथमिकता दिने बताउनुु भएको छ । 

गएकाे साउन २८ गते कागखोलाको बाढीले प्रभावित बनेको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बस्तीको आज स्थलगत निरीक्षण गर्नुहुँदै उहाँले यस्ताे प्रतिबद्धता जनाउनु भएकाे हाे । 

उहाँले भन्नुभयो–'ऐतिहासिक पर्यटकीय तीर्थस्थल कागबेनीको बस्ती पुनर्निर्माणको कामलाई सरकारले महत्त्वकासाथ अघि बढाउँछ ।' सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा बाढीका कारण क्षति पुुगेका भौतिक संरचनाको पुुनर्निर्माण गरिने गृहमन्त्री श्रेष्ठले बताउनुुभयो । 

कालीगण्डकी नदीको बगरमा थुप्रिएको नदीजन्य वस्तुका कारण उत्पन्न जोखिम तथा क्षति न्यूनीकरण गर्दै बस्तीलाई सुरक्षित बनाउने विषयमा ढङ्गले छलफल गरिने उहाँले बताउनुुभयो । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा कोरला नाका सञ्चालनको विषयलाई पनि छलफलको विषय बनाइने गृहमन्त्री श्रेष्ठले बताउनुुभयो । 

'कोरला नाकालाई चीन र नेपालबीचको व्यापारिक नाकाका रुपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले गम्भीरताका साथ पहल गर्नेछ,' उहाँले भन्नुुभयो, 'बेनी–जोमसोम–कोरला सडकमा बाह्रैमास यातायात सञ्चालनको व्यवस्था मिलाउन लागिपरेका छौँ ।' क्षतिग्रस्त सडक, पुुल, खानेपानी, विद्युत् र सिँचाइ आयोजना पुुनर्निर्माणको काम तत्काल अघि बढाइने उहाँको भनाइ थियो ।  

गृहमन्त्री श्रेष्ठले बाढीले क्षति गरेको कागबेनीको बस्तीको निरीक्षणका साथै पालिका, प्रशासन र सुरक्षा निकायका अधिकारीसित छलफल गर्नुभएको थियो । कागखोलाको बाढीबाट एक अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । नगद सामान र संरचनामा मात्र  ८१ करोड ८३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरीचौकीको भवन, तटबन्धनलगायत भौतिक पूर्वाधारतर्फ २१ करोड दुई लाख रुपैयाँ बराबरको क्षति पुगेको तथ्याङ्क छ ।

स्थानीयका ५० घरमा ५२ करोड रुपैयाँभन्दा बढीको क्षति भएको पालिकाले जनाएको छ । बाढीबाट २९ घरमा पूर्ण क्षति तथा १५ घरमा आंशिक क्षति पुगेको थियो भने बाढीले बगाउँदा २४ पशुचौपाया मरेका थिए । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया