रोमाञ्चक खेलमा अफगानिस्तानलाई २ रनले हराउँदै श्रीलंका एसिया कपको सुपर फोरमा

 भदौ २०, २०८० बुधबार ६:१५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एसिया कप क्रिकेटमा हिजो भएको रोमाञ्चक खेलमा अफगानिस्तानलाई २ रनले हराउँदै श्रीलंका सुपर फोरमा पुगेको छ । 

समूह ‘बी’ बाट अपराजित रहँदै श्रीलंका सुपर फोरमा पुगेको हो । हारसँगै अफगानिस्तान बाहिरिएको छ ।

जितको लागि २ सय ९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३७ ओभर ४ बलमा २ सय ८९ रनमा अलआउट भयो ।

यो लक्ष्य अफगानिस्तानले ३७ ओभर १ बलमा पुरा गरेको भए सुपर फोरमा पुग्ने थियो ।

त्यस्तै नियम अनुसार बाँकी तीन बलमा एक छक्का हान्न सकेमा पनि अफगानिस्तान सुपर फोरमा पुग्न सक्ने अवस्था थियो ।

तर दोस्रो र तेस्रो बल डट भयो । चौथो बलमा फारुकी एलबीडब्लू आउट भएपछि श्रीलंका विजयी भयो ।

त्यसअघि मुजिब उर रहमान आउट भएपछि अफगानिस्तान दबाबमा परेको थियो ।

अफगानिस्तानका मोहम्मद नाबीले सर्वाधिक ६५ रन बनाएपनि त्यो जितका लागि पर्याप्त हुन सकेन ।

श्रीलंकाका कसुन रजिथाले ४ विकेट लिए । दुनिथ वेलालेगे र धनन्जय डि सिल्भाले समान दुई विकेट लिए ।

त्यसअघि लाहोरमा टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९१ रन बनाएको थियो । 

श्रीलंकाका कुशल मेन्डिसले सर्वाधिक ९२ रन बनाए ।

अफगानिस्तानका गुलबदीन नाइबले ४ विकेट लिए । राशिद खानले २ विकेट लिए ।

समूह ‘ए’ बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगिसकेका छन् ।

समूह ‘बी’ बाट श्रीलंका शीर्ष र बंगलादेश दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगे ।

सुपर फोरका खेल आजदेखि सुरु हुँदैछन् । आज हुने खेलमा बंगलादेश र पाकिस्तान खेल्दैछन् ।

यो खेल लाहोरमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजेदेखि शुरु हुनेछ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया