उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्र संवेदनशील मोडमा रहेको बताउनुभएको छ ।
आज बिहीवार काठमाण्डाैमा नेपाल उद्योग वाणिज्य महासङ्घले गरेको राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य कार्यक्रममा अध्यक्ष ढकालले सरकारले समयमा सही नीति लिन नसक्दा अर्थतन्त्र संवेदनशील मोडमा पुगेको बताउनुभयो । उहाँले सरकारले सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाउन आवश्यक रहेको भन्दै अर्थतन्त्र सुधारका लागि सानोतिनो परिवर्तन र टालटुले नीतिले सम्भव नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी चाहन्छौँ– पारदर्शी र निजी क्षेत्रमैत्री प्रणालीको विकास होस् । साना उद्यमीलाई सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाइदिनुपर्छ । त्यसतर्फ हामी सबैले प्रयास गरौँ । किनभने अर्थतन्त्रमा अब सानोतिनो परिवर्तनले सुधार सम्भव छैन । हामीले समयमा सही नीति लिन सकेनौँ । अब टालटुले नीतिले तत्काल सुधार सम्भव छैन । अहिले नेपालको अर्थतन्त्र संवेदनशील मोडमा छ ।’
अध्यक्ष ढकालले बैंक तथा वित्तीय संस्थाहरूसँग लगानी गर्न झन्डै पाँच अर्ब रुपैयाँ रहेकाे तर तर आपूर्ति धेरै हुँदा कर्जाको ब्याजदर घटेर उद्यमी व्यवसायीले रकमको माग गर्नुपर्ने भए पनि त्यस्तो हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले सर्वसाधारणले अर्थव्यवस्थाप्रति विश्वास गुमाउँदै गएर एकै पटक लगानी र बजारको माग घट्दा बजार मूल्यसमेत निरन्तर बढेको बताउनुभयो ।
अहिलेको अर्थव्यवस्थाको जग विसं २०४८ ताका थालिएको सुधारले अब थेग्न नसक्ने भन्दै सरकारले तत्काल आर्थिक सुधार आयोग वा अन्य कुनै उच्चस्तरीय कानुनी हैसियत भएको संयन्त्र गठन गर्न आवश्यक रहेकाे ढकालकाे भनाइ छ । वर्तमान अर्थतन्त्रमा देखिएका समस्याकाे समाधान गर्न सबै पक्ष मिलेर काम गरेमात्रै सम्भव हुने उहाँले दाबी गर्नुभयाे ।
अध्यक्ष ढकालले देशको अर्थतन्त्रमा ८० प्रतिशत योगदान गरेको निजी क्षेत्रले दिएका सुझावहरू सरकारले कार्यान्वयनसमेत गर्न नखोजेको आरोप लगाउनुभयो । उहाँले ९० प्रतिशत कर्जा प्रवाह हुँदा समेत देशको आर्थिक वृद्धि हुन नसकेको विषयमा अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो ।
ढकालले अर्थतन्त्रमा समस्या आउनुमा निजी क्षेत्रलाई मात्रै दोष देखाएर सरकार उम्कन नपाउने बताउनुभयो । उहाँले सरकार, नियमन निकाय र निजी क्षेत्र सबैका कारण सिर्जित समस्याको समाधान पनि सबै मिलेरै गर्न आवश्यक रहेको बताउनुभयो । आर्थिक वृद्धिका लागि कर्जामात्रै आवश्यक नभएर सरकारले खर्च पनि गर्न आवश्यक रहेको उहाँकाे भनाइ छ । अर्थशास्त्रीहरूले पनि निजी क्षेत्र भन्नेबित्तिकै घरजग्गा, शेयर र व्यापारमा मात्रै लगानी गर्ने भन्ने गरेको भन्दै अध्यक्ष ढकालले निजी क्षेत्र आवश्यक नभएको हो भन्दै प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘निजी क्षेत्रमा झन्डै ६० लाख जनाले रोजगारी पाएका छन् । ९५ प्रतिशतभन्दा बढी निर्यात निजी क्षेत्रको छ । ८० प्रतिशतभन्दा बढी राजस्व निजी क्षेत्र र सर्वसाधारणले बुझाउने गरेका छन् । हामीलाई आशा थियो यति ठूलो योगदान गरेको निजी क्षेत्रका प्रायः सबै संस्था एकै ठाउँमा आएर दिएको सुझाव कार्यान्वयन हुन्छ । तर भएन । यत्तिकै दोष जति उद्यमी व्यवसायीलाई दिएर उम्किन मिल्छ ? सबैका कारण सिर्जित समस्याको समाधान पनि सबै मिलेरै निकालौँ भन्ने मेरो भनाइ हो । आर्थिक वृद्धिका लागि के कर्जामात्रै आवश्यक हुन्छ वा अन्य पनि ? सरकारले खर्च गर्नुपर्छ कि पर्दैन ?’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।