म्याग्दीको लुलाङमा तीन महिनापछि बिजुुली बल्यो

 कात्तिक १, २०८० बुधबार १०:४६:५ | रासस
unn.prixa.net

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा तीन महिनापछि बिजुुली बलेको छ । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनको विद्युत्गृह असार अन्तिम हप्ता बगाएको थियो । विद्युत्गृह बगाएपछि लुलाङ, खोरिया, लमसुङ र मेरेनीका करिब चार सय परिवार अन्धकारमा थिए ।

परियोजनाको मर्मत गरेर तीन महिनापछि मङ्गलवारदेखि विद्युत् आपूर्ति भएको लमसुुङका भक्त सिंकिजा पुनले जानकारी दिनुुभयो । ‘दशैँतिहारजस्ता चाडपर्वको समयमा गाउँ उज्यालो हुँदा स्थानीयवासीमा खुसीयाली छाएको छ,’ उहाँले भन्नुुभयो, ‘परियोजना मर्मत गरेर विद्युत् आपूर्ति सञ्चालन भएपछि जनजीवन सहज भएको छ ।’

दरखोला दोस्रो लघुुजलविद्युत् परियोजना मर्मतका लागि धवलागिरि गाउँपालिका तथा जिल्ला समन्वय समिति दुवैले पाँच लाख ५० हजार रुपैयाँ विनियोजन गरेका थिए । उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुुर गौचनले पहिरोले पुुरिएर भत्किएको विद्युत्गृह र उपकरण मर्मत गरेर परियोजना सञ्चालन गरिएको बताउनुभयो । परियोजना सञ्चालन भएपछि चारवटा बस्तीका तीन सय ७० परिवार लाभान्वित भएका छन् । 

‘नहरबाट आएको पानी सङ्कलन हुने ट्याङ्की भरिएर बग्दा खसेको पहिरोले विद्युत्गृह र पेनस्टक पाइप बगाएको थियो,’ गौचनले भन्नुभयो, ‘पेनस्टक पाइप, विद्युत्गृह र उपकरण परिवर्तन तथा मर्मत गरेर परियोजना पुनः सञ्चालन गरेर गाउँलाई उज्यालो बनाएका छौँ ।’

विसं २०७८ भदौमा बाढीले बगाएको परियोजना मर्मत गरेर छ महिनापछि पुनःसञ्चालन गरिएको थियो । लमसुङमा रहेको परियोजना २०७२ सालमा जुगेपानी पहिरोले बगाएपछि मरेनीको फेदीमा स्थानान्तरण गरिएको थियो । दरखोला दोस्रो लघुजलविद्युत् परियोजना तेस्रोपटक पहिरोको चपेटामा परेको छ ।

केन्द्रीय प्रसारण लाइन नपुगेको लुलाङका बासिन्दा विद्युत् सुविधाका लागि लघुजलविद्युत् परियोजनामा निर्भर छन् । उज्यालोका लागि टुकीको भर पर्नुपर्ने, वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रभावित, मोबाइल चार्ज गर्न, ल्यापटप, कम्प्युटर चलाउन समस्या भएको थियो । परियोजना पुुनः सञ्चालन भएपछि विद्यार्थीलाई पढ्न र स्थानीयवासीलाई घरायसी काम गर्न सहज भएको छ । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले पटक–पटक पहिरोले लद्युजलविद्युत् परियोजनामा क्षति गरेकाले लुलाङ, खोरिया, लमसुङ र मरेनीमा जतिसक्दो छिटो केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण गर्न पहल गरेको बताउनुभयो । 

‘नेपाल विद्युत् प्राधिकरणले यसपालि म्याग्दीमा विद्युतीकरण विस्तारका लागि २० करोड रुपैयाँको बजेट ठेक्का सम्झौता गरेको छ,’ उहाँले भन्नुभयो, ‘लुलाङको विद्युत्सम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि केन्द्रीय लाइन विस्तारलाई छिटो कार्यान्वयन गराउन पहल गरेका छौँ ।’

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया