सूर्याेदय र कुहिराेले ढाकेकाे दमाैली बजार हेर्न मानुङकाेटमा पर्यटक बढे

 कात्तिक ६, २०८० सोमबार १६:१:२ | रासस
unn.prixa.net

तनहुँ – तनहुँको मानुङकोटमा जाडो बढेसँगै पर्यटक पनि बढेका छन् । बिहानको घामको किरणसँगै कुहिरोले सर्लक्क ढाकेको दमौली बजार हेर्नका लागि पर्यटक बढेका हुन् ।

दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ । 

त्यही कुहिरोले ढाकेको दृश्य र सूर्योदय अवलोकन गर्न तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ । जाडो मौसम शुरु भएसँगै यहाँ पर्यटकको आगमन बाक्लिएको हो । गर्मी मौसममा प्रायः सुनसान रहने मानुङकोटमा चिसो मौसममा पर्यटकको बाक्लो उपस्थिति रहने गरेको छ । 

अहिले दशैँ बिदाका कारण पनि बिहानैदेखि पर्यटकको आगमन शुरु भएको स्थानीय अनिल अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब मानुङकोटमा पर्यटकको चहलपहल बढ्ने बेला भयो, बडादशैँको नवौ दिन आज बिहानै एक हजारभन्दा बढी पर्यटकको आगमन भयो ।’

अधिकारीका अनुसार राति मानुङकोटमै बास बसेर बिहानको दृश्य हेर्नेहरू पनि बढेका छन् । बिहानै मानुङकोट पुग्ने पनि उत्तिकै छन् । 

दशैँको समयमा काठमाण्डाैबाट दमौली आउनुभएकी पार्वती पौडेलले मानुङकोटको दृश्य लोभलाग्दो भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँबाट देखिने दृश्यले मनै लोभ्यायो, एकपटक आएपछि फेरि आउन मन लाग्ने रहेछ ।’

जाडो महिनामा मानुङकोटमा पर्यटकको राम्रो चहलपहल हुने वडाध्यक्ष विष्णुकुमार श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो, ‘’मानुङकोटको विशेषता भनेको जाडोयामको हो, जाडोयाममा कुहिरोले ढपक्क ढोकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्न विभिन्न ठाउँबाट पर्यटक आउँछन् ।’ मानुङकोटमा पर्यटकको चहलपहल बढेपछि होटल खुल्ने क्रम बढेको छ । उहाँले भन्नुभयो, ‘मानुङकोटको पर्यटन प्रवर्धनका लागि नगरपालिकाले पनि प्रयास गर्दै आइरहेको छ । प्रत्येक वर्ष मानुङकोटबाट पुलिमराङसम्म अल्ट्रा म्याराथन प्रतियोगिता हुँदै आएको छ ।’

मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्य अवलोकन गर्न सकिन्छ । मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेकाहरू पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया