नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
कास्की – पोखरा महानगरपालिकाले किसानलाई सघाउ पुग्ने गरी गाउँगाउँमा कृषि उपज सङ्कलन केन्द्र निर्माण गरेको छ । साना किसानहरुले उत्पादन गरेका कृषि सामग्रीहरु सहजै बजारमा बस्नेहरुले किन्न सक्ने गरी महानगरले कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । कृषि एम्बुलेन्सबाट तरकारी बजार पुर्याएपछि उपभोक्ताले पनि ताजा तरकारी खान पाएका छन् ।
देशका धेरैजसो किसानहरुले उत्पादन गरेको तरकारी र फलफूलले बजार नपाउँदा सडकमा फालेर विरोध जनाउने गरेका छन् । उपभोक्ताहरुले भने बाहिरबाट आएका तरकारी र फलफूल महँगोमा किन्नुपर्ने बाध्यता छ । किसानले उत्पादन गरेको तरकारी बारीमै कुहिएर खेर जाने गरेको छ भने उपभोक्ताहरु विदेशबाट आएका विषादीयुक्त तरकारी र फलफूल खान बाध्य छन् ।
पोखरा महानगरपालिकाले भने कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएर किसान र उपभोक्तालाई सिधै जोडिदिएपछि किसानको आम्दानी बढेको छ । पहिलो दुई चार मुठा साग पनि बाकेर पोखरा जानु पर्ने थियो । पोखरा २८ माझठानका टिकाराम लामिछाने अहिले तरकारी लिन कृषि एम्बुलेन्स घरसम्मै आउँदा तरकारी बिक्री हुँदा कृषका लागि आम्दानी भएको बताउनुभयो ।
पोखरा महानगरपालिकाले गाउँगाउँमा कृषि सङ्कलन केन्द्र बनाएको छ भने सहरमा बिक्री केन्द्र खोलेको छ । गाउँका कृषि सङ्कलन केन्द्रमा सङ्कलन भएका तरकारी सहरमा भएका बिक्री केन्द्रसम्म कृषि एम्बुलेन्सले ल्याएर बिक्री गर्ने गरेको कृषि एम्बुलेन्स सञ्चालक विकास ठकुरीले बताउनुभयो ।
कृषि एम्बुलेन्सले वार अनुसार पोखराका कृषि उपजमा तरकारी पुर्याउन गर्दछ । बजारमा वार अनुसार तरकारी आएको थाहा पाउनासाथ उपभोक्ताहरु तरकारी किन्न आउँछन् । पोखराको विरौटा, सिर्जनाचोक, लेकसाइड, ड्यामसाइड लगायत क्षेत्रमा महानगरले नै बिक्री कक्ष तोकिदिएको छ । त्यसै ठाउँमा एम्बुलेन्सले तरकारी झारिदिन्छ । उपभोक्ताहरुले मन परेका तरकारी र फलफूल किन्छन् । गाउँबाट झरेको तरकारी बढी स्वादिलो हुने गरेको पोखरा – १७ कि पार्वती गुरुङले बताउनुभयो ।
महानगरले पहिलो चरणमा परीक्षणको रुपमा एउटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । उत्पादन बढ्दै गए अझै एम्बुलेन्स थप्न सकिने योजना महानगरको रहेको छ । उत्पादन बढाउनकै लागि उत्पादनका आधारमा अनुदान दिने व्यवस्था महानगरले चलाएको छ । पोखरा महानगरले किसानले उत्पादन गरेका ३५ वटा कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य पनि तोकेको छ । उनीहरुको तरकारी र फलफूल बजारमा बिक्री नभए महानगरले तोकिएको मूल्य किसानलाई दिने पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो ।
महानगरमा सङ्कलन केन्द्र र बिक्री केन्द्र बढाउँदै जाने, आवश्यकता अनुसार कृषि एम्बुलेन्स थप्ने लगायतका योजना रहेको उहाँले बताउनुभयो । कार्यक्रमलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ कास्कीले पनि सघाइ रहेको छ । आगामी दिनमा ग्रेडिङ गरेर पोखराको उत्पादनलाई छुट्टै ब्राण्डिङ गरिने योजना रहेको उहाँको भनाइ छ । वैशाखदेखि पोखरा महानगरपालिकाले एम्बुलेन्स खरिद गरेर गाउँगाउँबाट तरकारी तथा फलफूल सङ्कलन गर्दै आएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।