सुर्तीजन्य पदार्थ बेचे पसल नै बन्द गर्ने काठमाण्डौ महानगरको चेतावनी

 मंसिर २७, २०८० बुधबार १६:३४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डाै महानगरपालिकाले भोलि बिहीवारदेखि महानगरभित्र सुर्तीजन्य पदार्थको बेचबिखनमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । महानगरले ३२ वटै वडामा प्लास्टिक वा बट्टामा प्याकिङ गरिएका सुर्ती, कच्चा सुर्ती, खैनी, गुड्का वा यस्तै प्रकारका सुर्तीजन्य पदार्थको बेचबिखन तथा चुरोट, बिडी, सुल्फा जस्ता धुमपान सार्वजनिक स्थलको एक सय मिटर वरिपरि बेच्न र खान प्रतिबन्ध गरेको छ ।

आज बुधवार पत्रकार सम्मेलन गरी महानगरका प्रवक्ता नवीन मानन्धरले सबै पसलमा अनुगमन गर्ने र अनुगमनका क्रममा सुर्तीजन्य पदार्थ भेटिए दुई पटकसम्म जफत र तेस्रो पटक पनि भेटिएमा पसल नै बन्द गर्ने चेतावनी दिनुभएको छ । अनुगमनका लागि महानगरले महानगरका चार वटा क्षेत्रमा १० जना गरी पहिलो चरणमा ५० जना नगर प्रहरी र सादा पोसाकका प्रहरी परिचालन गर्नेछ । सार्वजनिक ठाउँमा धुमपान गरेको पाइए त्यहाँबाट बाहिर निकाल्ने र सय रुपैयाँसम्म जरिबाना गराउने प्रवक्ता मानन्धरले बताउनुभयो । कसैले बिक्री गरेको देखे नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही हुनेछ ।

महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार स्वस्थ्य सहर निर्माणको अभियानमा महानगरपालिका रहेको छ । सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा पारिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको उहाँको भनाइ छ । रोग लागिसकेपछि लाखौँ रुपैयाँ खर्च गर्नुको साटो रोगै लाग्न नदिनु उत्तम भएकाले महानगरले यो नियम कडाइका साथ लागू गर्ने महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख पौडेलको दाबी छ ।

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया