रमदान र राेजा : जीवनसँग जाेडिएकाे कठाेर व्रत

 चैत ३, २०८० शनिबार ११:१८:५३ | मदन पौड्याल
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – संसारभरी रहेका मुसलमानहरु यतिबेला व्रतमा छन् । त्यो पनि निराहार अर्थात् पानी पनि नपिउने कठोर व्रत । यो पर्व अरब क्षेत्रमा गएको सोमवार अनि नेपाल, भारतलगायतका देशमा अर्कोदिन मङ्गलवारदेखि शुरु भएको हो । एक महिनासम्म चल्ने रमदान या रमजान पर्वमा मुख्यगरी दिनमा निराहार व्रत बस्ने गरिन्छ ।

रमदानमा घाम उदाएदेखि नअस्ताउँदासम्म दिनभर पानी पनि नपिई निराहार व्रत बस्ने चलन छ । रमदान महिनामा इस्लाम धर्मका मूल्य र मान्यता कायम राखी, व्यक्तिमा भएका नकारात्मक भावना र बानीबाट मुक्त राख्न व्रत बस्ने गरिन्छ । यो समय अरूको चियो चर्चा, खराब कर्मलाई छोडेर सकारात्मक सोंच, निराहार व्रत, धार्मिक ग्रन्थ ‘कुरान’ पाठलगायतमा ध्यान दिने गरिन्छ ।

स्वस्थ जीवनशैलीसँग पनि रमदान जोडिएको छ । अहिले आफ्नो समुदाय एक महिना लामो कठोर एवम् पवित्र व्रतमा रहेको इस्लामी सङ्घ नेपालका अध्यक्ष मौलाना नजरुल हसन फलाही बताउनुहुन्छ ।

के हो रमदान र रोजा ?

नेपाली पात्रो अनुसार वैशाख, जेठ गरी १२ महिना हुन्छ । त्यसैगरी हिजरी पात्रोमा पनि १२ महिना हुन्छ । मुहर्रम हिजरी संवत्को पहिलो महिना हो भने रमदान नवौँ महिना हो ।

यो महिनामा कुरान अर्थात मुसलमानको धर्मग्रन्थ प्रकट भएको मानिन्छ । शाबान अर्थात् आठौं महिनाको अन्त्यसँगै चंद्रोदय भएर रमदान महिना शुरु हुन्छ । रमदानको पूरा एक महिना पवित्रताको महिना भएकाले रोजा अनिवार्य छ । ‘रोजा’ अर्थात् उपासना नैतिक र आचरणको सौन्दर्यले भरिपूर्ण छ ।

रमदान लागेपछि बिहानदेखि बेलुकासम्म एक महिनासम्म खानपीन बन्द हुन्छ । लुकेर पनि खाने काम हुँदैन । तर बेलुकापछि बिहानसम्म तोकिएको समयमा खान या अरु कर्म गर्न मिल्छ । सूर्योदयअघि नै उठेर, हल्का खाना खाएर दिनको शुरुवात गरिन्छ । अनि दिनभर भोगविलास, लोभलालचा र कामबासना जस्ता कुराहरु बर्जित छन् ।

मौलाना नजरुल हसन फलाहीका अनुसार मुख्य तीन कुराहरु : सूर्योदयपछि बेलुका अस्तसम्म खाने, पिउने र यौनक्रिया गर्नु हुँदैन । जसलाई कुरानले नै बर्जित गरेको छ ।

रमदानका पाँच आधार स्तम्भ

रमदान पर्वमा मुसलमानका पाँच आधार स्तम्भ–उपासना, नमाज पाठ, जकात अर्थात् दान, रोजा अर्थात् उपवास र हजमध्ये हजबाहेक सबै स्तम्भ पूरा हुने गर्छ । हज जीवनमा एकपटक, जोसँग मक्कासम्म जाने क्षमता छ, उसका लागि मात्र अनिवार्य छ । रोजा बस्नुलाई नै उनीहरु गर्व मान्छन् ।

रोजामा सूर्यास्तपछि या चन्द्रोदयपछि लिइने पहिलो खानालाई इफ्तार भनिन्छ । इफ्तार अर्थात् व्रत भङ्गको क्रम । व्रत भङ्ग गर्न पानी र खजुर खाने चलन छ ।

त्यसपछि सूर्योदय नहुँदासम्म अरु परिकार खान सकिन्छ । जसरी दशैँ मनाउनेहरुले दशैँमा सुख, शान्ति र समृद्धिको कामना गर्छन् त्यस्तै गरी रमदान या ईद उल फित्र जस्ता पर्वमा ‘मुबारक’ भनी शुभकामना साट्ने गरिन्छ । कुलतमा लागेका मानिस एक महिनामा इमानदारीपूर्वक रोजा बस्न सक्यो भने खराब बानीमा परिवर्तन आउने मुसलमान समुदायको विश्वास छ ।

तर बालबालिका, बृद्धबृद्धा, गर्भवती, सुत्केरी, बिरामी, महिनावारी भएका, यात्रामा रहेका वा विशेष ख्याल राख्न पर्नेहरुलाई व्रत अनिवार्य छैन । यदि कसैले रमदानको समयमा व्रत बस्न मिलेन वा पाएन भने महिना सकिएपछि पनि छुटेको व्रतलाई कायम राख्न सक्ने मौलाना नजरुल हसन फलाही बताउनुहुन्छ ।

रमदानको विशेषता र महत्व

रमदान केवल खाना वा व्रतसँग मात्र पनि जोडिएको छैन । मेलमिलाप, शान्ति, दान तथा एकआपसमा सहयोग, अनुशासन, तपस्या जस्ता धेरै विषय जोडिएका छन् ।

धनी वर्गले दीनदुःखी र गरीबलाई सहयोग गर्छन् । विपन्न वर्गले महसुस गर्ने भोक, प्यास सम्पन्न वर्गलाई पनि महसुस गराउनु यो पर्वको उद्देश्य मानिन्छ । धनीले दिने दान तथा सहयोग लिनेको मानप्रतिष्ठामा आघात पुर्‍याउने गरी पनि दिने काम हुँदैन । यसतर्फ निक्कै ख्याल राखिने मौलाना नजरुल हसन फलाहीको भनाई छ ।

महिनाको अन्त्यमा आफ्नो सम्पत्तिको केही भाग दान गर्ने चलन छ, जसलाई जकात भनिन्छ । रमदान महिनाको अन्तिम दिन आकाशमा चन्द्रमा देखिएपछि रोजा सकिन्छ । इस्लामी सङ्घ नेपालका अध्यक्ष मौलाना नजरुल हसन फलाहीका अनुसार चन्द्रमा अरब क्षेत्रतिर एकदिन अघि र नेपाल, भारतलगायतका क्षेत्रमा एकदिन पछि देखिने हुन्छ । त्यसैअनुसार रोजा अर्थात् व्रत सकिन्छ ।

नवौँ महिना रमदान सकिएपछि दशौ महिना शव्वालको पहिलो दिन ईद उल फित्र मनाउने गरिन्छ । 
 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया