कम्बोडियामा एमालेका नेता जाँदा कुप्रचार गरियो : महासचिव पोखरेल
मंसिर ७, २०८१ शुक्रबार
लमजुङ – हिमालपारिको जिल्ला मनाङमा आधुनिक ढंगले व्यावसायिक स्याउ खेती गरिएको छ ।
ङिस्याङ गाउँपालिका–१, भ्राताङमा व्यावसायिक स्याउ खेती गरिएको हो । ‘एग्रो मनाङ कृषि फार्म’ ले भ्राताङमा स्याउ उत्पादन गर्दै आएको छ ।
माथिल्लो मनाङ, टंकी मनाङ, खाङ्सार, टावल, पिसाङ र भ्राकाको संगोलमा रहेको ७ सय ३५ रोपनी जग्गा भाडामा लिई भ्राताङमा स्याउ खेती गरिएको छ । ‘एग्रो मनाङ कृषि फार्म’का सञ्चालक भने प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङ हुनुहुन्छ । गुरुङका छोरा एवम् फार्मका निर्देशक सम्राज गुरुङका अनुसार फार्ममा सर्बिया र इटालीबाट गाला, गोल्डेन र फुजी जातका बिरुवा ल्याएर स्याउ खेती गरिएको हो । फार्ममा ३० करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ ।
‘ग्रेडिङ’ र ‘प्याकिङ’ धमाधम
फार्मबाट गएको वर्ष ३ सय टन स्याउ उत्पादन भएको थियो । यसवर्ष फार्मबाट ५ सय टन स्याउ उत्पादन भएको छ । यस परिणामबाट ५ करोड रुपैयाँ आम्दानी हुने अनुमान छ । अहिले फार्ममा उत्पादित स्याउको ‘गे्रडिङ’ र ‘प्याकिङ’को काम धमाधम चलिरहेको छ ।
‘स्याउ टिपेका छौँ । अहिले हामी प्याकिङ गर्न व्यस्त छौँ । यसवर्ष उत्पादन राम्रो छ । झण्डै ५ सय टन स्याउ उत्पादन हुने अनुमान गरेका छौँ’, फार्मका निर्देशक सम्राजले भन्नुभयो ।
फार्ममा ५० जना बढीले रोजगार पाएका छन् । फार्मका सुपरभाइजर राजु तामाङका अनुसार फार्मबाट उत्पादित स्याउ देशका मुख्य शहर काठमाडौँ, पोखरा, चितवनसम्म पुग्ने गरेका छन् । अहिले पिसाङमै स्याउको जुस उद्योग र कोल्ड स्टोरसमेत स्थापना गरिएको छ ।
पर्यटकको रोजाईमा स्याउबारी
एग्रो फार्मले जुस, ड्राई एप्पल बनाउन थालेको छ । फुजी, गाला र गोल्डेन जातका स्याउ क्रमशः सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा तयार हुन्छन् । तीन महिनासम्ममा फार्मबाट उत्पादित स्याउ बजार पुर्याउन र ‘स्टोरेज’ गर्न सजिलो हुन्छ ।
मनाङको स्याउ फार्म पर्यटकको रोजाईमा समेत पर्ने गरेको स्थानीय सञ्चारकर्मी नेगम परियारले बताउनुभयो ।
‘पर्यटकहरु फार्ममा पुगी स्याउबारी घुम्छन् । स्याउ बारीमा तस्बिर खिच्छन् । साथमा स्याउको जुस पिउँछन् । यसो गर्न पाउँदा पर्यटक निकै खुशी हुन्छन्’, उहाँले थप्नुभयो ।
सरोकारवालाका अनुसार हिमाली क्षेत्रहरुमा स्याउ उत्पादन गर्न सके, उत्पादित स्याउको उचित बजारीकरणको व्यवस्था हुन सकेमा नागरिकको जीवनस्तर उकासिन मद्धत पुग्छ । मुलुकमा बाहिरबाट स्याउ आयात गर्नुपर्ने अवस्था हट्छ ।
बरु उत्पादित स्याउ बाहिर निर्यात गर्न सकेमा मुलुकको आर्थिक समृद्धिमा समेत टेवा पुग्ने देखिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।