बाल क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति

 चैत १४, २०८० बुधबार १८:१६:३८ | रासस
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा 'सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युट'बीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको छ । आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य सचिव डाक्टर रोशन पोखरेल र डब्लुएचओ नेपालका प्रमुख डाक्टर राजेश संभाजीराव पाण्डवबीच यससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

स्वास्थ्य सचिव डाक्टर पोखरेलले समझदारीले नेपालमा क्यान्सरबाट पीडित बालबालिकाको उपचारमा सुधार ल्याउन ठूलो योगदान पुर्‍याउने बताउनुभयो । उहाँले शुरुमा निःशुल्क औषधि विभिन्न चारवटा सरकारी अस्पतालमा उपलब्ध गराइने भए पनि पछि आवश्यकताका आधारमा अन्य अस्पतालमा पनि विस्तार गरिने जानकारी दिनुभयो । डब्लुएचओका नेपाल प्रमुख डाक्टर पाण्डवले क्यान्सर भएका बालबालिकाको अत्यावश्यक औषधिमा पहुँच सुनिश्चित गर्नुका साथै क्यान्सर पीडित बालबालिकाको परिवारमा पर्ने आर्थिक भार कम गर्न यो कार्यक्रमले मद्दत गर्ने बताउनुभयो ।

मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डाक्टर कृष्णप्रसाद पौडेललले समझदारीमाअनुसार नेपालले बालबालिकामा हुने क्यान्सरका ३५ प्रकारका औषधि निःशुल्क प्राप्त गर्नेछ । समझदारीअनुसार नेपालले आगामी चार वर्षसम्म क्यान्सरको निःशुल्क औषधि पाउने छ । उहाँकाअनुसार आगामी सेप्टेम्बरदेखि औषधि नेपाल आउने क्रम सुरु हुनेछ । सरकारी अस्पताल भक्तपुर क्यान्सर अस्पताल, विपी कोइराला क्यान्सर अस्पताल भरतपुर, कान्ति बाल अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने बालबालिकाले निःशुल्क क्यान्सरको औषधि प्राप्त गर्नेछन् । नेपाल ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सरका लागि विशेष राष्ट्रको रुपमा सन् २०२० मा छनोट भएको थियो ।

अहिले क्यान्सर भएका बालबालिकामा निको भई बाँच्ने दर न्यून र मध्यम आय भएका देशमा मात्र २० देखि ३० प्रतिशत रहेको छ भने उच्च आय भएका देशमा ८० प्रतिशतभन्दा बढी रहेको छ । बालबालिकामा देखिने क्यान्सर नेपालजस्तो अल्पविकसित देशमा निको हुने दर कम रहेको छ । करिब २० देखि ३० प्रतिशत मात्र बालबालिका निको भई बाँच्ने दर रहेको छ । विकसित देशमा भने ८० देखि ९० प्रतिशत बाल क्यान्सर रोग निको पार्न सकिन्छ ।

नेपालले सन् २०३० सम्ममा क्यान्सर भएका बालबालिकाको बाँच्ने दर कम्तीमा ६० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ । कान्ति बाल अस्पतालका वरिष्ठ बाल क्यान्सर रोग विशेषज्ञ डाक्टर सनि सिपाइले नेपालमा आर्थिक अभावका कारणले अझै पनि बालबालिका उपचारमा नआएको बताउनुभयो । 

उहाँले बालबालिकालाई समयमा नै क्यान्सर रोगको उपचार गरे निको हुने सम्भावना बढी हुने बताउनुभयो । उहाँले नेपालमा नै बालबालिकामा हुने रक्त क्यान्सर ९० प्रतिशत निको पारिरहेको बताउनुभयो । उहाँकाअनुसार नेपालमा बालबालिकालाई रगत, आँखा, कलेजो, हड्डी र मांसपेशीको क्यान्सर हुने गर्दछ । बालबालिकामा १० प्रतिशत वंशाणुगत गुण र ९० प्रतिशत जिनको खराबीले गर्दा क्यान्सर हुने गर्दछ । जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई बढी मात्रामा क्यान्सर हुने गरेको छ ।
 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया