तोसलको मलेसिया यात्रा : कम्पनी सहरमा होला भनेर जाँदा बँदेल र सर्प भेटिने जंगलमा पुगियो

 माघ २६, २०७५ शनिबार १४:०:२८ | मोहन पौडेल

काठमाण्डौ – ‘भोग्नेलाई नै थाहा हुन्छ । सुन्नेले सुनेको जस्तो कहाँ हुन्छ र ।’ वैदेशिक रोजगारीमा गएकाहरुसँग कुरा गर्दा धेरैले यही वाक्य प्रयोग गर्छन परदेश, सुनेको र सोचेको जस्तो छैन भन्ने कुरा बुझाउन । 

यस्तै भोगाई छ खोटाङका तोसल बस्नेतले पनि । विदेश जानुअघि उहाँले सोचेको विदेश निक्कै सुन्दर थियो । तर सपनाको भारी बोकेर परदेश टेकेपछि उहाँले त्यो सुन्दर परदेश देख्न र भोग्न पाउनुभएन । 

खोटाङको हलेसी महादेवस्थानका तोसलको पढाइ एसएससीभन्दा अघि बढेन । पढाइ रोकिनुको कारण थियो घरको आर्थिक अवस्था । पढाइ रोकिएपछि तोसलको ध्यान वैदेशिक रोजगारीले तान्यो । हुन त उहाँलाई गाउँमै केही गरौं कि भन्ने सोच पनि आएको हो ।

तर गाउँमै केही गर्छु भन्दा सहयोग गर्ने कमै भए त्यो बेला । त्यसको ठिक उल्टो विदेश जान्छु भनेपछि भने उहाँले ऋण लिन धेरै दुःख गर्नुपरेन । पैसा जोहो गरेपछि विदेश पठाइदिने मान्छे त सजिलै पाइहाल्नुभयो उहाँले ।

उहाँका काकाकी साली काठमाण्डौमा एजेण्टको काम गर्थिन । उनैले तोसललाई प्याराडाइज म्यानपावरमा पुर्‍याइन् । म्यानपावरमा पुर्याउनुअघि नै उनले तोसलसँग ९० हजार रुपैयाँ लिइसकेकी थिइन् । २०६५ सालको भदौ महिनामा कतार जान भनेर पासपोर्ट बुझाएर घर फर्किएका तोसललाई दसैं, तिहार मनाएपछि म्यनपावरले उड्न तयार भएर आउनु भनेर बोलायो । 

उहाँ चाडबाड सकेर केही वर्षपछिका चाडबाड त्योभन्दा फरक तरिकाले मनाउने सपना साँचेर खोटाङबाट काठमाण्डौ आउनुभयो । तर म्यानपावरले सबै प्रक्रिया पुरा गरेपनि भिसा नआएको भन्दै साउदी जान प्रस्ताव गर्‍यो । तोसलले मान्नुभएन ।

पैसा लिइसकेकी एजेण्ट र म्यानपावर उहाँलाई जसरी पनि पठाउन लागिपरेका थिए । पासपोर्ट फिर्ता दिएका थिएनन तोसललाई । ‘केहीदिन पर्खिंदा पनि नदिएपछि मैले म्यानपावरको सञ्चालकलाई नै थर्काउनुपर्‍यो’ सञ्चालकलाई नै ठूलो स्वरमा सम्झाएपछि तोसलले पासपोर्ट फिर्ता पाउनुभयो ।

त्यञ्जेलसम्म उहाँले विकल्प खोज्न थाल्नुसक्नुभएको थियो । तोसललाई म्यानपावरमा पुर्‍याउने महिलाका देवर मलेसियाबाट केहीदिन अघि मात्रै नेपाल आएका थिए । उनले आफूले १२ वटा भिसा ल्याएको बताए । काकाकी सालीले पनि त्यसमै जान प्रस्ताव गरिन् । 

त्यतिञ्जेलसम्म तोसलले घरबाट ऋण गरेर पैसा डुबाएको भन्ने गुनासो सुन्नु पर्न थालिसकेको थियो । उहाँका लागि घर फर्किनुभन्दा मलेसिया जानु उचित लाग्यो । पैसा पहिल्यै दिइसकेकाले कामका बारेमा बुझ्नु थियो ।

उहाँले बुझ्नु पनि भयो मलेसियामा त्यही कम्पनीमा काम गर्ने आफन्तसँग । उनले पनि राम्रै भनेपछि तोसल तेल बनाउने कम्पनीमा काम गर्न मलेसिया पुग्नुभयो । मलेसिया उड्दै गर्दा लोसलले मलेसियामा त्यो पनि कम्पनी भनेपछि सहरतिरै होला भन्ने सोच्नुभयो । तर कम्पनी सहरमा थिएन ।

सर्प र बँदेल देख्दा डर लाग्यो 

हवाइजहाजबाट ओर्लिएपछि उहाँसँगै सबैलाई गाडीमा राखेर निक्कै पर लगियो । केही समय पक्की सडकमा गुडेको गाडीले कच्ची सडकमा पनि लामै समय गुडाएर घना जंगलमा पुर्‍यायो । 

जंगल सामान्य थिएन । गाउँमै हुर्किएका तोसल घना जंगल देखेरै डराउनुभयो । उहाँले त्यहाँ पुगेपछि राम्रो छ भन्ने आफन्तलाई सोध्नुभयो । तर ती आफन्तले त्यही कम्पनीमा काम गरेपनि ठाउँ भने फरक रहेछ । 

‘पुगिसकेपछि के गर्नु काम त गर्नैपर्‍यो’ तोसलले काम थाल्नुभयो । काम गर्ने ठाउँ र बस्ने कोठा साइकलमा १५ मिनेट जतिको दुरीमा थियो । पहाडमा हुर्किएका तोसलले त्यतिञ्जेल साइकल कुदाउनुभएको थिएन । केहीदिन साथीहरुसँग हिँडेरै कम्पनी जानुभयो । हिँडेर जाँदा आधा घण्टा नै लाग्थ्यो ।

जंगल देखेर डराएका तोसल सर्प र बँदेल देखेपछि त झनै डराउनुभयो । ‘यहाँ जंगली बँदेल देख्नु न त्यत्रा सर्प अनि त बेकारमा आइएछ भन्ने लाग्न थाल्यो’ केही समय त तोसलको मनमा यस्तै कुरा खेलिरहे । 

भाग्ने सोच 

‘यही पीडाले त्यहाँ पुग्ने प्रायले भाग्ने योजना बनाउँदा रहेछन्’ तोसलले भन्नुभयो । एकातिर घना जंगलमा काम गर्नुपर्दाको पीडा अनि अर्को तिर ५ सय २० रिंगिटमा १ सय ५० रिंगिट लेभी काटिँदाको समस्या । तोसलले पनि केही महिनामा भाग्ने सोच बनाउनुभयो । तर भाषा आउँदैनथ्यो । 

दुई वर्षसम्म त्यही जंगलमा बिताएका तोसल त्यसपछि केहीदिनको बिदा लिएर गाडीमा ३ घण्टाको यात्रा गरेर सहर पुग्नुभयो काम खोज्न । तर काम खोजिदिने भनेर बोलाएका नेपाली युवाको उहाँलाई विश्वास लागेन ।

‘कुरा नै कस्तो कस्तो गर्थे तिनीहरुले त्यही भएर यसरी इलिगन (अवैधानिक) भएर काम गर्नुभन्दा त त्यहीँ ठिक छ भनेर फर्किएँ’ तोसल लिएको बिदा नसकिँदै त्यही कम्पनीमा फर्किनुभयो । दुई वर्ष पुगेपछि ओभरटाइम काम गर्न पाउन थाल्नुभयो ।

उहाँले महिनाको १५ सय रिंगिटसम्म कमाउनुभयो । ‘तर त्यसका लागि २४ घण्टा काम गर्नुपथ्र्यो’ तोसल सुनाउनुहुन्छ, ‘कम्पनीमा पुगिसकेपछि साथीहरु मिलाएर दुई घण्टा जति मिलाएर सुत्थ्यौं ।’  

यही क्रम चार वर्षसम्म चल्यो । त्यसपछि भने उहाँ घर फर्किनुभयो । २०६९ सालमा घर फकिंदै गर्दा तोसलको कल्पना भोगाइमा बद्लिइसकेको थियो । त्यसैले उहाँले भन्नुभयो ‘विदेश कहाँ यहाँ सोचेको हुँदो रहेछ र ।’

मोहन पौडेल

उज्यालोमा कार्यरत मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया