श्रमिकका लागि बोर्डको योजना : छोराछोरीका लागि पढ्दै कमाउँदै कार्यक्रमदेखि विदेशमा स्वास्थ्य शिविरसम्म

 साउन ३०, २०८० मंगलबार १८:१२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डले परदेशीका छोराछोरीका लागि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

चालु आर्थिक वर्ष २०८०/०८१ मा वैदेशिक रोजगारीमा रहेका श्रमिकका छोराछोरीका लागि स्कुलहरूसँगको समन्वयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्न लागिएको बोर्डका निर्देशक तथा सूचना अधिकारी राजन पौडेलले जानकारी दिनुभयो ।

‘वैदेशिक रोजगारीमा धेरै गएका जिल्लाहरूको छनौट गरी यो कार्यक्रम सञ्चालन गरिने छ’ सूचना अधिकारी पौडेलले भन्नुभयो ‘यो कार्यक्रमले परदेशीका छोराछोरीलाई केही भए पनि सहयोग पुग्ने छ भन्ने बोर्डले आशा लिएको छ ।’

चालु आर्थिक वर्षका लागि बोर्डले एक अर्ब १२ करोड रुपैयाँ बजेट छुट्टाएको छ । जसअन्तर्गत बोर्डले यस वर्ष विभिन्न नयाँ कार्यक्रमहरूसमेत गर्ने योजना अघि सारेको छ ।

वैदेशिक रोजगारीको क्रममा विभिन्न कारणले अङ्गभङ्ग भएर फर्किएका श्रमिकहरूलाई विभिन्न सामग्रीहरूसमेत उपलब्ध गराउने भएको छ । आवश्यकता अनुसार ह्विलचियरदेखि कृतिम हात खुट्टा लगायतका सामग्रीमा समेत सहयोग गर्ने यस वर्ष बोर्डले योजना बनाएको छ । 

यसका साथै वैदेशिक रोजगार बोर्डमा नै एक जना मनोपरामर्शकर्तासमेत राख्ने सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूसँग उनीहरूका परिवार लगायतलाई मनोपरामर्श सेवा प्रदान गर्ने गरी बोर्डले मनोपरामर्शकर्ता नियुक्त गर्ने जनाएको छ । 

अघिल्लो वर्षदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूका लागि वीर अस्पतालसँगको सहकार्यमा बोर्डले टेलिमेडिसिन सेवा सञ्चालन गर्दै आएको छ । यस वर्ष भने विभिन्न गन्तव्य देशमा नै विशेषज्ञ डाक्टरहरूको टोलीसहित गएर श्रमिकका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । 

यस्तै वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको तत्काल उद्धारका लागि बोर्डले यस वर्ष पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

तपाईको प्रतिक्रिया