Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको अंक - ६१४

बैदेशिक रोजगारीमा जाने श्रमिकले विदेश जाने प्रक्रिया शुरु गर्दाकै बेलादेखि नै सचेत हुनुपर्छ । बैदेशिक रोजगारीका लागि गन्तव्य देशमा पुगेर श्रमिक अप्ठ्यारोमा नपरुन्, श्रमिकका परिवार यहाँ सुरक्षित रहुन्, श्रमिकले दुःख गरेर कमाएको पैसाको व्यस्थापन होस् र कुनैपनि समयमा श्रमिकलाई अप्ठ्यारो परेमा उनीहरुलाई सहयोग गर्न सकियोस् भनेर सरकारले त्यसअनुसारको काम गरिरहेको छ । बैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य बीमा गर्नुपर्ने नियम पनि छ । यसबारे सरकार र सम्बन्धीत निकायले आवश्यक जानकारी उपलब्ध गराइरहेको छ । तर, पनि बैदेशिक रोजगारीमा जाने श्रमिकले यसबारे खासै चासो नलिएको र झण्झट मानेको पाइन्छ । बैदेशिक रोजगारीमा जाँदा बीमा गर्न किन आवश्यक छ ? यसले के फाइदा हुन्छ ? देश परदेशको अंक ६१४ मा हामीले बीमा गरेर बैदेशिक रोजगारीमा जाँदाका फाइदाबारे राष्ट्रिय बीमा प्राधीकरणका उप निर्देशक निर्मल अधिकारीसँग कुराकानी गरेका छौं ।