Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

देश परदेशको अंक ६१६

कोभिडपछि बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेको पनि बैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउँछ । नेपालमा रोजगारी नपाउँदा अथवा राम्रो सेवासुविधा तथा अवसरको खोजीमा नेपालबाट ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढेको छ । त्यस्तै, श्रम स्वीकृति नलिई भिजिट भिसा र विद्यार्थी भिसामा विदेश गएर काम गर्नेको संख्या जोड्ने हो भने बिदेशिनेको संख्या ठूलो छ । बैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति लिएर गए त ठिकै हो । यदि श्रम स्वीकृति नलिई गए दुख पाइन्छ । अहिले बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनका निम्ति पालिका तहबाट काम भइरहेको छ । यसैको एउटा राम्रो उदाहरण हो रोजगार सेवा केन्द्र । बैदेशिक रोजगारीमा जानेको संख्या बढीरहेको समयमा रोजगार सेवा केन्द्र सञ्चालनमा आएपछि मानिसमा यस विषयबारे जनचेतना बढेको छ । कार्यक्रम देश परदेशको अंक ६१६ रुपन्देहीको बुटबल उपमहानगरपालिकामा रोजगार सेवा केन्द्र सञ्चालन भएपछि आएको परिवर्तनबारे रोजगार सेवा केन्द्रका संयोजक अरविन्द पाण्डेसँग कुराकानी गरेका छौं । साथै, बैदेशिक रोजगारीमा जादाँ ध्यान पुर्याउनु पर्ने विषयबारे बैदेशिक रोजगार बोर्डका निर्देशक टीकाराम ढकालसँग गरिएको कुराकानी पनि समावेश छ ।