Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको अंक ६४३

 वैदेशिक रोजगारीमा जाँदा अनिवार्य श्रम स्वीकृति लिनुपर्छ । तर श्रम स्वीकृतिबिना धेरै श्रमिक अहिले पनि दलालको फन्दामा परेर खाडीलगायत देशमा घरेलु कामदारका रूपमा बेचिइरहेका छन् । रोजगारीको लागि भन्दै दलाल तथा म्यानपावर कम्पनीले घरेलु कामदारको अवैध ओसार पसार, डान्स बार, रेस्टुरेन्ट, मसाज, ब्युटिपार्लर, फिल्म बनाउने, मनोरञ्जन वा अन्य पेसाको नाममा बेचबिखन गर्ने गरेका उदाहरण धेरै छन् । नक्कली विवाह, सर्कस, अध्ययन, स्थायी÷अस्थायी बसाई, भ्रमणको नाममा पनि बेचविखन नजानिदो रुपमा बढेको छ । भारतको  मुम्बईलाई मात्र हेरेर होइन अन्य देशहरु खासा, हङकङ, लेबनान, खाडी र अफ्रिकी देशसम्मे रोजगारीका नाममा हुने बेचबिखन बढेको छ । कार्यक्रम देश परदेशको अंक ६४३ मा हामीले बैदेशिक रोजगारी र मानव बेचबिखनबारे कुराकानी गरेका र्छौ । यस विषयमा हामीले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रसँग कुराकानी गरेका छौं । साथै, बैदेशिक रोजगारीका नाममा बेचबिखनमा परिरहेका महिलाबारे एट्विन नेपालकी बेनुमाया गुरुङसँग कुराकानी समावेश छ ।