Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

370_Desh Paradesh 2019-07-30

कार्यक्रम देश परदेशको ३७० औं अंक वैदेशिक रोजगारीमा हुने ठगी र यसबाट बच्ने उपायका बारेमा केन्द्रित छ । एजेण्टको भर पर्दा ठगीमा परेका बाराका बर्मदेव यादव, नवलपरासीका इश्वरी पौडेल,  विष्णुराज पोख्रेल र सल्यानका भुवन बोहोराका भोगाइ कार्यक्रममा सुन्न सकिन्छ । वैदेशिक रोजगारीमा हुने ठगी रोक्ने प्रविधि र उपायबारे वैदेशिक रोजगार विभागका सूचना अधिकारी भोलानाथ गुरागाईँसँगको कुराकानी र फोनबाट वैदेशिक रोजगारीसम्बन्धि जानकारी लिने तरीकाबारे वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठको सल्लाह पनि समावेश छ । नियमित स्तम्भ दिदीबहिनीका कुरामा स्वदेशमै सिलाइबुनाइको काम गरेर कतारमा रहेका श्रीमान्लाई स्वदेश फर्काउन सफल रोल्पाकी सुनिता मगरका संघर्ष र सफलताका कुरा सुन्न सकिन्छ । साथमा छन् तपाईँले राखेका जिज्ञासामा हामीले खोजेका उत्तरहरु । अनि, समसामयिक विषयबस्तु समेटिएको राउण्डअप र हप्ताभरीका वैदेशिक रोजगारी सम्बन्धि गतिविधि ।