अनि प्रदिप र व्याकुल माइलाको भेट भयो !

 मंसिर १, २०७५ शनिबार १३:२:१६ | जानुका दुवाडी
unn.prixa.net

दोस्रो जनआन्दोलनपछि नेपालको राजनीतिक व्यवस्था मात्रै होइन, राजसंस्थासँग जोडिएका पुराना कुरा पनि परिवर्तित भए । 

देशको नयाँ राजनीतिक व्यवस्था सुहाउँदो राष्ट्रिय गानको पनि खाँचो देखियो । नयाँ राष्ट्रिय गानका लागि देशव्यापी रुपमा आह्वान गरियो । देशभरीबाट प्राप्त झण्डै १३०० सिर्जनामध्येबाट छानियो – ‘सयौँ  थुँगा फूलका हामी, एउटै माला नेपाली ।’ यस गीतका सर्जक थिए व्याकुल माइला अर्थात प्रदिपकुमार राई । नयाँ राष्ट्रिय गानमा संगीत भरे वरिष्ठ संगीतकार स्वर्गीय अम्बर गुरुङले ।

राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको त्यसपछि देशव्यापी रुपमा चर्चा परिचर्चा सुरु भयो । प्रस्तुत छ, उनै सर्जकसँग जानुका दुवाडीले गरेको कुराकानी :

हिजोआज केमा व्यस्त हुनुहुन्छ ?

प्रायः सार्वजनिक कार्यक्रममा जान्छु । सामाजिक कामहरु र आफ्नै व्यवहारिक काम तथा लेखपढ आदिमै व्यस्त हुन्छु । 

कार्यक्रमहरुमै व्यस्त भइरहनुहुन्छ  ? 

हो, कार्यक्रमहरु दिनदिनै हुन्छ । दसैँ अघिसम्म धेरै नै व्यस्त थिएँ । त्यसपछि बीचमा केही फुर्सद भयो । तिहार पनि सकियो ।  अब निरन्तर कार्यक्रम छ । मंसिरदेखि पुससम्मका लागि कार्यक्रममा निम्तो आइसक्यो । 

बढीजसाे कस्ता खालका कार्यक्रममा तपाईंँलाई बोलाइन्छ ? 

बढि चाहिँ सामाजिक संघसंस्थाले गरेका सम्मानका  कार्यक्रममा बोलाईन्छ । पुस्तक स्थापनादेखि लिएर, खेलकूद, विद्यालयको वार्षकोउत्सव,  उद्घाटन र पुस्तक बिमोचन लगायतका कार्यक्रममा निम्ता आउँछ । 

कार्यक्रममा जानेबाहेक अरु दिनचर्या कसरी बित्छ ? 

बिहान ६ बजे उठ्छु । पत्रपत्रिका पढ्छु, खबर सुन्छु । चिया पिउन छोडेँ । छोरीलाई स्कुल पुर्याउँछु । कार्यक्रम हुँदा कार्यक्रममा निस्कन्छु । आफ्नो अरु काम चाहिँ ठ्याक्कै यही काम गर्छु भन्ने चाहिँ हुँदैन । र व्यक्तिगत भन्दा नि आफ्नो सामाजिक र सार्वजनिक कार्यक्रममा सहभागी भएर नै दिनचर्या बित्छ । 

अब तपाईँको नामको बारेमा कुरा गरौँ, धेरै मानिसले प्रदिपकुमार राई भन्दा नि व्याकुल माइला भनेर चिन्ने गर्छन् । व्याकुल माइलाले प्रदिप राईलाई उछिने जस्तो लाग्दैन ? 

बडो गज्जबको कुरा सोध्नुभो । त्यस्तो त लाग्दैन । मेरो कानुनी कागजपत्रदेखि लिएर हरेक कुरामा प्रदिपकुमार राई नै छ । आफ्नो खास नाम अथवा न्वारनको नामले भन्दा पनि कामले चिनिनुपर्छ भन्ने सुरुदेखिकै मेरो सपना भनौँ या चाहना थियो ।  व्याकुल  माइला चाहिँ प्रतिभा सिर्जनाको माध्यमबाट चिनिने सौभाग्य पाएँ । त्यसले गर्दा आफूलाई भाग्यमानी ठान्छु । सही नाम राखेछु । सिर्जनाबाट चिनिन सफल भएकोमा गर्व छ मलाई । प्रदिप राई ओझेलमा परेकोमा मलाई कुनै बिस्मात् छैन । 

प्रदिप राई र व्याकुल ​ माइलाको भेट कसरी भयो ? 

रमाइलो प्रश्न गर्नुभयो । कस्तो भनेदेखि एउटा मौरीले, रानी मौरीले आफैँ सिर्जना गरेजस्तै भयो । मलाई सुरुमा राजनीति मन पर्ने । २०४६ सालतिर गाउँस्तरको राजनीति पनि गरियो । त्यतिबेला प्रदिप राई गाउँठाउँमा सामाजिक अभियन्ता तथा राजनीतिक कार्यकर्ता जस्तो  थियो ।  जब काठमाडौं पढ्न आएँ, जुन गाउँठाउँमा गरेको सामाजिक काम काठमाडौंमा गर्नुपर्ने अवस्था आएन । आवश्यकता पनि थिएन । नयाँ किसिमले जीवनलाई अगाडि बढाउनुपर्ने अवस्था देखियोे । गाउँमा संगठित भएर युवाहरुलाई एकीकृत भएर अगाडि बढ्थें भने काठमाडौंमा आइसकेपछि त्यस किसिमको संगठन बनाउनुपर्ने आवश्यकता पनि थिएन र चाहना पनि थिएन । 

अब सिर्जनाको माध्यमबाट चिनिनुपर्यो भनेर कविता लेख्न थालियो । कविता लेख्ने क्रममा नयाँ नाम त राख्नुप्यो भन्ने लाग्यो । अनि आफ्नो मनमा लागेको कुराहरु आफ्नो मनौवैज्ञानिक पक्ष प्रतिबिम्बित गर्ने क्रममा प्रदिप कुमार राई र ब्याकुल माइलाको भेट भयो । सुरुमा प्रदिप राई र व्याकुल  माइला र दुवै नाम राखेर कविता छाप्थेँ । त्यसपछि दुवै नाम राख्दा कविता भन्दा पनि नाम लामो हुने भएकाले प्रदिप कुमार राई हटाएर व्याकुल  माइला राखेँ । 

स्कुल पढ्दा पनि एउटा उमेर हुन्छ, जुनबेला नामको पछाडि उपनाम जोड्न मन लाग्छ । तपाईँले पनि त्यस्तै रहरले व्याकुल माइला जोड्नुभएको हो या,अरु विशेष केही कारण छ ? 

त्यस्तो ठूलो घटना केही पनि छैन । केही कारण भने अवश्य छ ।  काठमाडौं आइसकेपछि म  साहित्यिक क्षेत्रमा म लागेँ । यसलाई मैले दैनिक दिनचर्या बनाइरहेको थिएँ । काठमाडौं आएपछि गाउँघरका साथीहरुसँगको सम्बन्ध टुट्याे, गाउँघरको सम्झनाले म होमसिक जस्तो भएँ । भावुक भएँ । वर्षदिनसम्म त गाउँघरको सम्झनाले म रुन्थेँ । यो क्रम एक वर्षसम्म चल्यो । पछि मैले मेरो कविता कवि तथा कथाकार अबि राई काकालाई देखाएँ ।  उहाँले मलाई तिम्रो कविता ठीक लाग्यो । तिम्रो रचना पत्रपत्रिका जस्तो गोरखापत्र, मधुपर्क, लगायतमा दियो भने छापियो भने तिमिलाई हौसला मिल्छ । नछापिए पनि, किन छापिएन भनेर सुधार गर्ने मौका मिल्छ भन्नुभएको थियो । त्यसपछि  छाप्नका लागि तयार भए । त्यसका लागि नयाँ नाम पनि चाहियो ।

नयाँ नाम कस्तो नाम भने भावुक  वेदना भएको जुन एउटा पीडादायक उदास, जुन प्रकारको मनोदशा छ त्यसलाई पनि रिफ्लेक्ट गर्नुपर्यो । अर्को चाहिँ म घरको म माइला छोरा  हो  । मेरो आमापट्टिको भने म एक्लो हो । मलाई कान्छा भन्ने गर्छन् । खासमा भन्ने बेलामा चाहिँ मलाई कान्छो भन्ने । घर भित्र २ जना कान्छा हुनु र मलाई माइला नभनिनुले रोलक्रम मिचियो । रोलक्रम पनि मिलाउन र  आफ्नो कविता लेख्दा रुने बानीलाई पनि  प्रतिबिम्बित गर्ने नाम राख्नका लागि नाम खोज्दै जाँदा व्याकुल  माइला नाम जोडिएको हो । 

तपाईँले सुरुमा राजनीति पनि गरेँ भन्नुभयो ? राजनीति गर्न छाडेपछि कविता लेख्न थाल्नुभयो कि पहिलेदेखि नै लेख्नुहुन्थ्यो ?

२०४६ सालको आन्दोलनमा जतिखेर म भर्खरै एसएलसी दिएर बसेको थिएँ, त्यतिबेला राजनीतिक माहोल थियो ।  बहुदलीय प्रजातन्त्रको लागि लड्ने एउटा सचेत युवा भएको कारणले प्रजातन्त्र कसरी ल्याउने कुरामा ध्यान गयो । त्यसले गर्दा राजनीतिमा जानी नजानी तानिएँ । तर मैले त्यो राजनीति गरेको बेला व्याकुल माइला नाम जोडेको थिइनँ । पछि राखेपछि पनि मैले कहिल्यै राजनीतिसँग जोडिनँ । प्रदिपकुमार राई राजनीतिमा बरु सक्रिय रह्यो । तर व्याकुल  माइला मैले विशुद्ध साहित्यिक व्यक्तित्वको रुप कम प्रयोग गरेँ । 

राजनीति किन छोड्नुभयो ? 

जब राष्ट्रिय गानको रचनाकार हुने सौभाग्य पाएँ, त्यसपछि मैले राजनीति छोडिदिएँ । आफ्नो पेशा व्यवसायदेखि लिएर जीवनमा अगाँल्न सक्ने बाटाहरु छोडिदिएँ । राष्ट्रिय गानका रचनाकारको रुपमा मात्रै बाँचौ भन्ने हिसाबले सबै छोडिदिएँ । 

तपाईँ एउटा कानुनको विद्यार्थी, केही समय राजनीतिमा पनि सक्रिय हुनुभयो । तपाईँको बाटो र गन्तव्य बेग्लाबेग्लै हुन पुगेजस्तो कहिलै लाग्दैन ? 

मेरो जीवनमा भएको कुरा नै त्यही हो । कानुन भोलि एउटा पेसा व्यवसाय गर्नका लागि अथवा व्यत्तित्व निर्माणका लागि कानुन पढियो । एक दिन  घरबाट आउने क्रममा तीन दाजुभाइ आएका थियौँ । मेरो दाइ गणेश राई जो अहिले कान्तिपुरको पत्रकार हुनुहुन्छ । उहाँले पत्रकारिता अन्तरर्गत मानविकी संकाय  लिनुभयो । भाइको लागि वाणिज्य र मेरो लागि कानुन रोजिदिनुभयो । 

भनेपछि दाइले रोजिदिएर तपाईँले कानुन पढ्नुभयो ?

हो, त्यसरी नै पढियो । तर साहित्य चाहिँ के रहेछ भन्ने त्यो मान्छेको रहर, चाहना मान्छेको भित्री आत्माले जुन क्षेत्र मन पराउँछ त्यो छोड्न नसक्दो रहेछ । साहित्य मैले कहिल्यै छोड्न सकिनँ । एउटा स्वअध्ययन, साहित्यप्रतिको माया, लगाव, मेरो नसानसामा मेरो साहित्य छ । योग्यता बनाउनका लागि कानुन पढियो । तर साहित्य बाँच्नका लागि मेरो जीवनको अत्यन्तै महत्वपूर्ण क्षेत्र भएकोले म साहित्यमा लागेँ । 

राष्ट्रिय गानको रचना गर्दाखेरी तपाईँलाई ती शब्दहरु ३ करोड नेपालीको साझा शब्द होलान् भन्ने लागेको थियो ? 

बडो गाह्रो ।  म त प्रतिस्पर्धामा सहभागी भएको मान्छे । म गीत गजल पहिलेदेखि नै लेख्थेँ । कुन स्तरको लेख्छु भन्ने एउटा मापन गर्नु आवश्यक थियो । मापन गर्ने रहर जाग्यो  त्यसैले राष्ट्रिय गान लेखनको प्रतिस्पर्धामा सहभागी हुन तम्सिएँ  । २०६२-०६३ मा कुनै दिन नछाडी लाग्ने आन्दोलनकारी हूँ म । त्यसले गर्दा हाम्रो जुन परिवर्तन हो, त्यसलाई संस्थागत गर्ने क्रममा आफ्नो क्षेत्रबाट, हैसियतबाट, आफ्नो स्थानबाट के योगदान पुर्याउन सकिन्छ भन्ने थियो । परिवर्तनलाई संस्थागत गर्नुपर्छ भन्ने जिम्मेवारी बोधका लागि पनि सहभागी हुनुपर्छ भनेर लागेको हुँ । यो एउटा  ऐतिहासिक क्षण हो भनेर सहभागी भएको हो । तर राष्ट्रिय गानको रुपमा छनोट हुन्छु भनेर सपनामा पनि सोचेको थिइनँ । 

राष्ट्रिय गानका रचनाकार भइसकेपछि अरुले हेर्ने दृष्टिकोणमा के फरक पाउनुभयो ?  

पहिला त म सीमित परिधीमा  मात्रै चिनिएको थिएँ । गजल लेख्थे, गजलकार साथीहरुले चिन्नुहुन्थ्यो । गीत लेख्थेँ, त्यही सर्कलका मानिसले चिन्नुहुन्थ्यो । कविता लेख्थेँ, केही साहित्यिक क्षेत्रमा लागिरहेका मानिसले मात्र चिन्नुहुन्थ्यो । त्यो बेलाको पहिचान निक्कै सहज र सरल थियो भने राष्ट्रिय गानको रचनापछि राष्ट्रिय आइकनको रुपमा देखिन थाल्यो । राष्ट्रको एउटा देखिने व्यक्तिको रुपमा देखिन थालेँ । त्यसपछि मेरो एउटा सामाजिक उत्तरदायित्व हरेक कुरामा सचेत हुनुपर्ने कुरामा मलाई बोध भयो । एक्कासि सामान्य मेरो जिम्मेवारी हरेक कुरामा सचेत हुनुपर्ने, विवेक कहिल्यै गुमाउन नहुने रैछ भन्ने कुरामा म पुगेँ। सामाजिक मानिसको रुपमा चिनिन थालें । 

परिवारमा को–को हुनुहुन्छ ?

हामी संयुक्त परिवारमै छौँ । काठमाडौंमा म मेरो श्रीमती र छोरी छिन् । काकाकाकी हुनुहुन्छ । राष्ट्रिय गान रचना गर्नुभन्दा अगाडि म उहाँहरुसँगै बस्थेँ । घरमा बुबा, आमा, दाजु, भाउजू, भाइ बुहारी सबै ओखलढुगाको हिलेपानीमा हुनुहुन्छ । बुबाआमा बुढो भइसक्नुभएको छ । भाइबुहारीसँग बस्नुहुन्छ  । 

पछिल्लो समय केही रचना गर्नुभएको छ  ? 

रचनाहरु धेरथोर निरन्तर रुपमा रचिरहेकै हुन्छु । त्यो त भइरन्छ । अहिले खेलसम्बन्धी एउटा गीत तयार भइसकेको छ । विभिन्न गायक गायिकाले गीत माग्नुहुन्छ । त्यसैमा लागिरहेको छु । 


 

अन्तिम अपडेट: मंसिर २२, २०७५

तपाईको प्रतिक्रिया