उपचुनावबाट एमाले उत्साहित, नयाँ शक्तिलाई धक्का

 बैशाख १८, २०८१ मंगलबार १२:४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – प्रतिनिधि सभा र प्रदेश सभा गरी दुई वटा सिटमा भएको उपचुनावमध्ये दुवै सिट नेकपा एमालेले जितेको छ । प्रतिनिधि सभा अन्तर्गत इलाम–२ मा भएको उपचुनावमा एमालेले आफ्नै सिट जोगाएको हो भने प्रदेश सभा अन्तर्गत बझाङ १ (क) मा भएको उपचुनावमा एमालेले कांग्रेसको सिट खोसेको छ । इलाममा सुहाङ नेम्वाङ र बझाङमा दमनबहादुर भण्डारी निर्वाचित हुनुभयो ।

सिट सङ्ख्याका आधारमा उपचुनावको नतिजाले राष्ट्रिय राजनीतिमा कुनै उथलपुथल नल्याए पनि नतिजाले एमालेलाई उत्साहित बनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले इलाममा विजयी जुलुसलाई सम्बोधन गर्ने कुराले पनि एमाले उत्साहित भएको देखाउँछ । पुराना शक्तिले आफूहरूप्रतिको विश्वास देखाउने र नयाँ शक्तिहरूले आफूहरूको विस्तार देखाउने गरी प्रचार गरेका कारण पनि यो चुनाव दलहरूका लागि प्रतिष्ठाको विषय बनेको थियो ।

यस्तै अघिल्लो चुनावअघि विभिन्न कारण धेरै आलोचित बनेर पुनः लयमा फर्कन लागेको एमालेका लागि यो जित आफ्नो क्षमता देखाउने माध्यम बनेको राजनीतिक विश्लेषक प्राध्यापक डा. लोकराज बराल बताउनुहुन्छ । यस्तै चुनावको नतिजाले पुराना दलहरू विशषगरी कांग्रेस र एमालेकै प्रभाव देखाएको पनि डा. बरालले बताउनुभयो ।

नयाँ शक्तिको रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि इलाममा प्रचारलाई व्यापक बनाएको थियो । तर इलाममा रास्वपाका उम्मेदवारको धरौटीसमेत जफत भयो । इलाममा रास्वपाले पाएको मतले नयाँ शक्तिका नेताहरूको आचरण सुधार हुनुपर्ने देखिएको प्राध्यापक डाक्टर बरालले बताउनुभयो ।

इलाममा रास्वपाका उम्मेदवारले कम मत पाउनुमा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिनु र हतारहतार सरकारमा सहभागी हुनु मुख्य कुरा रहेको धेरैको भनाइ छ । यो कुरालाई पार्टीको तर्फबाट कमान्डरको रूपमा इलाम–२ मा खटिएका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले पनि स्वीकार गर्नुभएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया