मिथिलाञ्चलमा सामाचकेवाको रौनक

 मंसिर २, २०७५ आइतबार १३:३९:७ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – यतिबेला मिथिलाञ्चलमा दिदी बहिनी र दाजुभाइबीचको प्रेमको प्रतीकको रुपमा मनाइने साँस्कृतिक पर्व सामाचकेवाको रौनक छाएको छ ।

रातिको समयमा गाउँकी युवतीहरु सामूहिक रुपमा गीत गाएर मनाउने सामाचकेवा पर्वको गीतले अहिले मिथिलाञ्चल क्षेत्र गुञ्जमय बनेको हो । समाचकेवा पर्वमा कलात्मक रुपमा समा, चकेवा, चुगलालगायतका पात्रहरुलाइ माटोले बनाएर पूजापाठ गर्ने परम्परा छ । सामालाई स्त्री पात्रको रुपमा हेरिन्छ भने चकेवालाई पुरुष पात्रका रुपमा हेरिन्छ ।

मैथिली नारीहरुले दाजुभाइको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गीतका माध्यमले खिल्ली उडाएर बेइज्जत गर्ने चलन छ । कात्तिक पूर्णिमासम्म मनाइने समा–चकेवा समूहगत रुपमा खेल्ने परम्परा अहिले महोत्तरीलगायत तराईको विभिन्न जिल्लामा चलिरहेको छ ।

प्रत्येक दिन साँझदेखि मध्यरातिको समयसम्म घरघरका महिलाहरु चौवटीया (गाँउको खुल्ला स्थान) मा जम्मा भएका प्रत्येकले आ–आफनो डालामा माटोले निर्मित आर्कषक एवम् कलात्मक सामा–चकेवाको मूर्ति राखेर विभिन्न किसिमका लोक गीतहरु गाएर यो पर्व मनाउने गर्छन ।

सामा–चकेवा बारेमा एक किबदन्ती समेत रहेको छ । द्वापर युगमा भगवान कृष्णकी सुपुत्रीको नाम सामा थियो । भगवान कृष्णले आफ्नी छोरीलाई ‘चरा’ बन्ने श्राप दिएपछि पुनः मानव योनीको रुपमा फर्काउनमा सामाका भाइ साम्बले भूमिका खेलेको विषय यस पर्वसँग जोडिएको छ ।

सामाकी नोकर्नी डिहुलीले सामा बृन्दावनमा घुम्न जाँदा ऋषिहरुसँग यौन सम्बन्ध राख्ने गरेको झुठो कुरा कृष्णसमक्ष लगाइन् । भगवान कृष्ण आवेशमा आएर सामा र बृन्दावनका समस्त ऋषिहरुलाई चरा बन्ने श्राप दिएको किबदन्ती छ ।

सामाको भाइ साम्बले यी विषयहरुमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले सामासहित सबै ऋषिहरुलाई श्रापबाट मुक्त गर्नुभयो ।

भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अबदेखि जसले माटोको सामा बनाएर गाउँभरमा भ्रमण गरी पर्व मनाउँछन्, उसका दाजुभाइ दीर्घायु हुने बरदान दिएकाले यो पर्व मनाउन थालिएको भविष्य पुराणमा उल्लेख गरिएको छ ।

काँचो माटोले बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’  र सोही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेबा’ भन्ने संज्ञा दिएर बनाएका माटाका मूर्तिहरुको नै विशेष महत्व रहेको पाइन्छ ।

यस पर्व मनाउनका लागि प्रत्येकले आ–आफ्ना रंगीन डालामा सामा, चकेबाका साथै एक पातमा बसेका सातवटा चरा जसलाई सतभैंया, बृन्दावन जङ्गल, भूmठो कुरा लगाउने (चुगला)का साथै बनाइएका आकर्षक एवम कलात्मक मूर्तिहरु राखेका हुन्छन ।

यता भोजपुरी र मैथिली भाषामा निर्मित यस्ता गीतसंगीतहरुले मिथिलाञ्चलक्षेत्रलाई नै रोमाञ्चक बनाएका छन् । अन्य पर्वहरुमा गाइने गीतसंगीतभन्दा पनि यस पर्वमा गाइने गीतसंगीतमा भने निकै नै फरक रहेको छ ।

यस पर्वमा सबैभन्दा रोचक भनेको दिदी बहिनीहरुले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशंसाका साथै आशिष दिने खालका सामा गीत गाउने गरिन्छ । सोही क्रममा आफूलाई  चाहिएका सरसामानहरु पनि गीतको माध्यमबाट सुनाउने प्रचलन रहेको छ ।

पछिल्लो समयमा आएर तराई मधेश क्षेत्रमा जारी हिंसात्मक घटनाहरुको कारण त्रसित रहेको यसक्षेत्रका समाजमा भने खुलेर पर्व तिहारहरु मनाउन नपाएको नेपाल कुशवाहा कल्याण समाज महोत्तरीका अध्यक्ष दिनेश महतोले बताउनुहुन्छ ।

प्रायः महिलाहरुले मात्र साँझदेखि मध्यरातिसम्म मनाइने यस पर्वमा भने पछिल्लो समयमा आएर केही न केही रुपमा रौनकतामा कमी आएको अध्यक्ष महतो बताउनुहुन्छ । समाजिक एवम् सांस्कृतिक महत्व झल्किने यस्ता पर्वहरुको संरक्षण गर्नका लागि सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने आवश्यकप्रति उहाँले जोड दिनुभयो ।

पछिल्लो समयमा यस क्षेत्रमा हुँदै आएको यौनजन्य घटनालगायतका गतिविधिका विभिन्न आतंकित घटनाहरुले त्रसित रहेको समाजलाई परिवर्तन गर्नका लागि सम्बन्धित सरोकार निकायको ध्यान जानु अति नै आवश्यक रहेको गौशाला नगरपालिकाका नागेन्द्र साहले बताउनुभयो ।

दाजुभाइले समाचकेवालगायतका पात्रहरुलाई घुँडामा राखेर फुटाएपछि नदी, तलाउ तथा खुला चौरमा गाडेर सामाचकेवा पर्वको समापन गर्ने परम्परा रहेको छ । समा चकेवा पर्व मनाउनका लागि मैथिलानी नारीहरु माइती जाने चलन समेत रहेको छ । बाहिर रहेका दाजुभाइहरु समेत समाचकेवाको पर्वमा घर फर्किने गर्दछन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया