डोजरको साटो गैंती, बेल्चा प्रयोग गर्नुपर्छ भन्दै बाटो खन्न कस्सिए जनप्रतिनिधि

 मंसिर २, २०७५ आइतबार १५:५१:९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङका सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरुले मोटरबाटो निर्माण गर्न आफैले कुटोकोदालोले बाटो खनेका छन् ।

पछिल्लो समय मोटरबाटो निर्माण गर्नका लागि डोजरको बढी प्रयोग भइरहेको भन्दै त्यसलाइ कम गरी समुदायकै सहभागितामा विकास कार्यअघि बढाउन श्रम गरेको जनप्रतिनिधिले बताएका छन् ।

प्रतिनिधिसभाका सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत, कपुरकोट गाउँपालिका अध्यक्ष भीमबहादुर सेन लगायतको जनप्रतिनिधिहरुको टोलीले शनिबार कपुरकोट सिमलकुना हुँदै दाङ जोड्ने मोटरबाटो गैँती, बेल्चा लगायतका घरायसी औजार प्रयोग गरी खनेका हुन् ।

सांसद बस्नेतले कुनै पनि विकासका कार्यक्रममा नागरिकको सहभागिता नभए विकासको काम दिगो नहुने बताउनुभयो । ‘जबसम्म विकासमा नागरिकले पसिना बगाउँदैनन्, तबसम्म त्यो विकास आफ्नो हुँदैन,’ सांसद बस्नेतले भन्नुभयो ।

डोजर तथा मेसिनको प्रयोगबाट काम छिटो, कम लागतमा हुने भए पनि त्यो विकास मजदुरसँग नजोडिने उहाँको भनाई थियो । केन्द्र सरकारको पूर्वाधार विकास अन्तर्गत कपुरकोट २ को सिमलकुना हुँदै दाङ जोड्ने सडकमा यो वर्ष ३० लाख रुपैयाँ विनियोजन भएको छ ।

गएको वर्ष कपुरकोट गाउँपालिकाले २९ लाखको लागतमा ट्रयाक खोलेर १ हजार ७ सय मिटर बाटो निर्माण गरिसकेको छ । यो वर्ष केन्द्रीय सरकोरको ३० लाख तथा गाउँपालिकाको ५ लाख गरी ३५ लाखको बजेटमा स्थानीय उपभोक्ताहरुले नै बाटो खन्ने भएका छन् ।

कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले सांसद् बस्नेतसँग समन्वय गरेर विकासमा अघि बढ्ने बताउनुभयो । उहाँले सिमलकुनाको बाटोलाइ स्थानीयवासीकै श्रमबाट गन्तव्यसम्म पुर्याइने प्रतिवद्धता जनाउनुभयो । ‘अब ५ किलोमिटर बाटो खन्न बाँकी छ । यसलाइ हामी गन्तव्यमा पुर्याउँछौं’, उहाँले भन्नुभयो, ‘हामीले डीपीआर तयार गरिसकेका छौँ ।’

सम्भव भएको ठाउँसम्म गाउँका उपभोक्ताले नै मोटरबाटो खन्ने र असम्भव ठाउँमा डोजर प्रयोग गरिने निर्माण उपभोक्ता समितिका अध्यक्ष तुलाराम पुनले जानकारी दिनुभयो । शनिबार त्यो मोटरबाटोमा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत सुबास रिजाल, वडा नम्बर १ का अध्यक्ष बालाराम खड्का, २ का अध्यक्ष मानबहादुर राना, ३ का अध्यक्ष मिनबहादुर सेनलगायत स्थानीयले श्रम गरेका थिए । 

दाङ परिक्रमा गर्ने रिङ रोड निर्माण हुँदै

दाङ जिल्ला परिक्रमा गर्नका लागि रिङ रोड निर्माण गरिने भएको छ । प्रतिनिधिसभाका सदस्य बस्नेतले सल्यानलाई छुने छिमेकी जिल्लाहरुको सिमाना हुँदै रिङ रोड निर्माण गर्ने कार्य सुरु भइसकेको बताउनुभयो ।

रिङ रोडका लागि २ सय ६० किलोमिटर खन्नुपर्ने र अहिले १ सय २० किलोमिटर बाटो निर्माण भइसकेको बस्नेतले जानकरी दिनुभयो । कपुरकोट गाउँपालिकामा रिङ रोडका लागि ५० लाख रुपैयाँ विनियोजन भएको बस्नेतले जानकारी दिनुभयो ।

सांसद बस्नेतले शनिबार कपुरकोट गाउँपालिकाका अध्यक्ष र आफूले रिङ रोड निर्माण हुने क्षेत्रको अवलोकन गरेको बताउनुभयो । उहाँले नागरिकसँग जोडिएको विकासमा भ्रष्टाचार नहुने बताउँदै विकासमा सबै एकजुट भएर लाग्न आग्रह पनि गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया