मोदीवेणीधाम गुठीको सम्पत्ति विवरण सार्वजनिक गर्न प्रशासन कार्यालयले फेरि पत्र पठायाे

 साउन १३, २०८१ आइतबार १५:३७:४९ | रासस
unn.prixa.net

पर्वत – कालीगण्डकी र मोदी खोलाको सङ्गमस्थलमा रहेको पर्वतको प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल मोदीवेणीधामको सम्पत्ति विवरण सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालयले तकेता गरेको छ । कुश्मा नगरपालिका–५ मोदीवेणीमा रहेको नृसिंह मन्दिर र गुठीका नाममा सयौँ रोपनी जग्गा र करोडौँ रकम रहेको भए पनि अहिलेसम्म सम्पत्ति सार्वजनिक हुन नसकेको भन्दै प्रशासनले पत्र काटेको हो ।

पछिल्लो १५ वर्षमा लगाइएका ६ वटा महायज्ञबाट सङ्कलित रकम, दैनिकजसो दर्शनार्थी तथा भक्तजनबाट सङ्कलन हुने भेटी र विभिन्न सङ्घ–संस्थाले गर्दै आएको आर्थिक सहयोग तथा जिन्सी सामग्रीको लगत अहिलेसम्म सार्वजनिक हुन नसकेकाेले सम्पत्ति सार्वजनिक गर्न मोदीवेणीधाम व्यवस्थापन समितिका नाममा पत्र काटिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

गुठीका नाममा पर्वतकाे कुश्मा र फलेवास नगरपालिका तथा स्याङ्जाको अर्जुनचौपारी र आँधीखोला गाउँपालिकालगायत विभिन्न ठाउँमा रहेको दुई सय ५० रोपनी जग्गाको विवरणसमेत सार्वजनिक हुन सकेको छैन ।

एक वर्षअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले परिपत्र गर्दा समितिले अटेर गरेपछि पुनः प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले पत्र पठाउनुभएको हो । तोकिएको समयभित्र विवरण नआएमा अन्य प्रक्रिया थाल्ने प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया