एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
सरकारले खेलकुद क्षेत्रमा लगानी क्रमशः बढाउँदै गएको छ । चालू आर्थिक वर्षमा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड ४८ लाख बजेट छुट्याइएको छ, यो रकम गएको वर्षभन्दा ६२ करोड ९ लाख रुपैयाँले धेरै हो । मन्त्रालयको कुल बजेटको ८५ प्रतिशत खेलकुदका क्षेत्रमा छ ।
खेल बजेटमध्ये सबैभन्दा धेरै प्राथमिकता क्रिकेटले पाएको छ जसका लागि १ अर्ब ३० करोड रुपैयाँ बजेट छुट्याइएको छ । काठमाण्डौको मूलपानी क्रिकेट रंगशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला राष्ट्रिय गौरवका आयोजनामा समावेश गरिएका छन् । यो सुधारको सकारात्मक शुरुआत हो ।
केही वर्ष अलमलमा परेको चितवनको भरतपुर क्रिकेट रंगशाला पनि निर्माणको चरणमा छ । यो रंगशाला पनि राष्ट्रिय गौरवको आयोजनामा छानिएर तीनै तहका सरकारले मिलेर अगाडि बढाएका छन् । कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिको काम भइरहेको छ । खेलकुदमा राज्यको सबैभन्दा प्राथमिकतामा क्रिकेट नै देखिएको छ भन्दा फरक पर्दैन ।
अन्य खेलसँग सम्बन्धित काम पनि हुनपर्ने जति नभएको होला । तर केही काम भने भइरहेकै छ ।
कर्णालीको सुर्खेतमा अर्को वर्ष हुने १०औं राष्ट्रिय खेलकुदका लागि तयारी धमाधम भइरहेको छ । बजेटको अभाव नहुने हो भने यो प्रतियोगिताले खेल क्षेत्रमा अर्को आशा जगाउने छ । अहिले सरकारले ८० वटा खेलका लागि लगानी गर्ने भनेको छ ।
खेलकुदमा राज्यको लगानी पूर्वाधार विकासमा मात्रै होइन । अन्य पनि धेरै छन् । सम्बन्धित खेलका लागि आउने बजेट र पाउने सेवा सुविधा छँदैछन् ।
अहिले निजी क्षेत्रहरूको आकर्षण पनि खेलकुद क्षेत्रमा बढ्दै गएको छ । यो वर्ष नेपालले दोस्रो पटक टी–२० विश्वकप क्रिकेट खेल्यो । केही दिनअघि मात्रै यू–१९ महिला क्रिकेट विश्वकपका लागि छानिएर फर्कियो । फुटबल र भलिबलमा पनि अन्तर्राष्ट्रिय र स्थानीय प्रतियोगिताहरू सञ्चालन भइरहेका छन् ।
अन्य खेलले पनि अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरिरहेका छन् । कतिपय खेलमा भने राज्यको लगानीभन्दा प्रतिफल धेरै छन् । राज्यले बेवास्ता गरेका खेलाडीहरू अन्तर्राष्ट्रिय अवार्ड लिएर फर्किएका छन् । यी क्षेत्रका लागि राज्यले सोच्न जरुरी छ । लगानी बढाउन आवश्यक छ । राज्यले लगानी गरेअनुसार नै प्रतिफल पाउँदै जाने हो । कतिपय लगानीको प्रतिफल प्राप्त हुन समय लाग्ला । तर त्यसका लागि शुरूमा राज्यले लगानी गरेर आधार खडा गर्नुपर्छ ।
हामीले आज गर्ने लगानी भनेको भोलिको प्रतिफलका लागि हो । सरकार मात्रै लागेर भने पुग्दैन । सँगसँगै सम्बन्धित खेलकुदका जिम्मेवार निकायले पनि योजना बनाएर लाग्न जरुरी छ । राम्रा योजना निर्माणमा हामीले ध्यान दिनुपर्छ । हामीले राम्रो योजना दिने हो भने सम्बन्धित निकायले त्यसमा चासो दिन्छ र लगानी पनि गर्छ । हामी नै अलमलिन पुग्यौँ भने अगाडि जान सकिँदैन ।
नेपाली क्रिकेटको व्यावसायिकता र नयाँ आयाम
नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलो पटक आफैं नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आयोजना गरेको छ । क्यानले आयोजना गरेको यो प्रतियोगिता घरेलु तथा अन्तर्राष्ट्रियस्तरकै सबैभन्दा ठूलो हो ।
नेपाल प्रिमियर लिगलाई भव्य बनाउन क्यानका सम्पूर्ण साथीहरू एक वर्षदेखि अनवरत लागिरह्यौं । हामी यसरी अगाडि बढ्दा सबै क्षेत्रबाट सकारात्मक प्रतिक्रिया र साथ सहयोग पायौँ । आउँदा दिनमा नेपाल प्रिमियर लिगलाई र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय क्षेत्रमा महत्त्वपूर्ण रूपमा चिनाउन चाहन्छौँ ।
२० वर्षअघि नेपाली क्रिकेटरहरूको जुन पारिश्रमिक थियो अहिले धेरै फेरबदल भइसकेको छ । क्रिकेटर ३०/४० जनामा मात्रै अब सीमित रहने छैनन् । क्यानले जिल्ला जिल्लामा पु¥याउने खाका कोरिरहेको छ ।
यसभन्दा अगाडि पनि एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग गरी तीन वटा फ्रेन्चाइज क्रिकेट लिग भएका छन् । त्यसबखत केही टिमले बाहेक धेरैले आर्थिक रूपमा फाइदा उठाउन सकेनन् ।
अहिले नेपाल क्रिकेट सङ्घ र टिमहरूले जुन लगानी गरेका छन् त्यो लगानी हेर्दा यसअघिको प्रतियोगिताको लगानी निक्कै कम देखिन्छ । हामीले अहिले मात्रै एउटा प्रतियोगिता आयोजना गरेका होइनौँ । देशमा नै एउटा खेलकुदको संस्कार बसाल्नुपर्छ भनेर अगाडि बढेका छौँ । अहिले बनेका फ्रेन्चाइज टोलीहरूलाई हामी प्रदेश र जिल्लासम्म जोड्ने प्रयासमा छौँ । हरेक फ्रेन्चाइज टोलीले आफ्नै एकेडेमी खोल्न सक्छन् ।
अहिलेका आठ वटा फ्रेन्चाइज टोलीमध्ये तीन वटा प्रदेशका नाममा र बाँकी शहरका नाममा जोडिएका छन् । नेपाल क्रिकेट सङ्घले लामो छलफलपछि यी टोली बनाएको हो । तर जति पनि टोलीहरू छन्, त्यसका लगानीकर्ताले केही वर्षसम्म यी टोलीबाट आर्थिक लाभ पाउन सक्नुहुन्न । हामीले टोली लिने र लिन चाहने लगानीकर्ताहरूलाई तीनदेखि चार वर्षसम्ममा गर्नुपर्ने लगानीका बारेमा प्रष्ट बनाइसकेका छौँ । यी यी क्षेत्रमा तपाईंहरूले लगानी गर्नुपर्छ भनिसकेका छौँ ।
नेपाल प्रिमियिर लिगका लागि टिम किन्न १६ वटा लगानीकर्ताले इच्छा देखाउनुभएको थियो । यो भनेको नेपाली क्रिकेटले प्राप्त गरेको ठूलो उपलब्धि हो । हामीले ६ वटा टोलीबाट शुरू गर्ने सोचेका थियौँ । तर हामीले यस्तो उत्साह देखेपछि ८ वटा टोली बनायौँ । हामीले देशका सबै ठाउँलाई समेट्ने प्रयास पनि गरेका छौँ । भविष्यमा जुन लगानीको कुरा छ सम्पूर्ण फ्रेन्चाइज टोलीका लगानीकर्ताहरूलाई धन्यवाद भन्नुपर्छ । राम्रो पक्ष अर्को के पनि हो भने ८ वटा फ्रेन्चाइजको साथसाथै अर्को ८ वटा फ्रेन्चाइजी पनि बाहिर हुनुहुन्छ । जसले नेपाल प्रिमियर लिगको फ्रेन्चाइज लिनका लागि र फ्रेन्चाइज टोलीसँग जोडिन रुची देखाएका छन् ।
पहिलो संस्करणपछि हामीलाई पनि नयाँ खाका के आउनेछ भने फ्रेन्चाइज मोडलमा एउटा टिमले कति खर्च गरेर आफूलाई टिकाउन सक्छ भनेर हामीले खाका बनाएका छौँ, यो १० वर्षसम्मको छ । १० वर्षको अवधिसम्म हरेक वर्ष गरेको लगानीको आम्दानी कसरी फिर्ता पाउँछन् भनेर हामीले आँकलन गरेका छौँ ।
सुदूरपश्चिमका हरेक क्रिकेट फ्यानले सुदूरपश्चिम हाम्रो क्रिकेट टिम हो भनेर जर्सी किनून् । जस्तो आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरले अहिलेसम्म उपाधि जित्न सकेको छैन । तर यो टिम सबैभन्दा बढी ब्रान्ड भ्याल्यु बोकेको टिम हो ।
हामीले आर्थिक रूपमा गरेको लगानीको प्रतिफल ग्रासरुट क्रिकेटसम्म पर्नेछ । भोलि बच्चाहरूले त्यो ठाउँको टोलीसम्म जोडिएर क्रिकेटमा आबद्ध हुनेछन् । यसको प्रभाव लामो समयसम्म रहिरहनेछ । अहिले लगानी गरेर आजको भोलि मात्रै फाइदा हेरेर हुँदैन ।
नेपाल क्रिकेट सङ्घको लगानी मैदानमा मात्रै नभई मैदानभन्दा बाहिरका गतिविधिबाट पनि देख्न सक्नुहुनेछ । हामीले अहिले नेपाल प्रिमियर लिगलाई आत्मनिर्भर बनाउने हिसाबले अगाडि बढाएका छौं । सबैभन्दा ठूलो स्टेकहोल्डर भनेको हाम्रो लगानीकर्ता हुन् । जसलाई हामीले पहिल्यै भनिसकेका छौँ, पहिलो तीन वर्ष फाइदा लिन सक्नुहुन्न । थाहा भएरै पनि उहाँहरूले सहयोग गर्नुभएको छ ।
खेलकुदको आर्थिक प्रभाव र रोजगारी
अब खेलकुदका गतिविधि बढ्दै जाँदा अन्य क्षेत्रमा पनि यसको असर देखिन थाल्छ । यसको सकारात्मक असर रोजगारीमा पनि देखिने छ । खेलाडीहरूले त खेल्ने मात्रै हो । अन्य तयारीका लागि अन्य व्यक्तिहरूका लागि रोजगारी सिर्जना हुन्छ । राज्यले लगानी बढाउँदै जाँदा खेलकुदका लागि पूर्वाधारहरू बन्दै जानेछन् । हामीले आम्दानी गरेपछि जिल्ला जिल्लामा लगानी बढाउने छौँ । त्यहाँ पनि नयाँ रोजगारी बढ्छ ।
आज केन्द्रका उत्कृष्ट २५ खेलडीहरूले पाँच वर्ष खेल्दा जीवन निर्वाहका लागि चिन्ता नगर्नु पर्ने अवस्था बनिसकेको छ । यो अवस्था भोलि प्रदेश र जिल्लामा पनि विस्तार हुन्छ ।
हामी कुनै पनि एउटा प्रतियोगिता आयोजना गरेर यसको नाफाघाटा मात्रै हिसाब गर्न सीमित हुन चाहँदैनौँ । यसको प्रभाव राष्ट्रकै विकासमा परोस् भनेर त्यसैअनुसारको लगानी चाहन्छौँ । अहिले क्रिकेट एउटा उचाइमा पुगेको छ । यसले अरू खेललाई पनि प्रभाव पार्न सक्छ ।
आज भलिबलका कभर्ड हल भरिन थालेको छ । फुटबलमा रंगशाला पहिल्यैदेखि दर्शकले भरिन्छ । खेलकुदले पर्यटकलाई पनि आकर्षण गर्छ । नेपालमा अरू धेरै इभेन्ट्स छैनन् । यस्ता खेलहरू नेपाली दर्शकले कुरेर बस्छन् । यो क्रम विस्तार हुँदै जानेछ ।
आगामी वर्षहरूमा काठमाण्डौबाहिर पनि प्रतियोगिता सञ्चालन गर्न सकिएको खण्डमा त्यहाँ पनि दर्शकहरू भरिभराउ हुनेछन् । पूर्वाधार तयार भइसकेपछि हामी यस्ता प्रतियोगिता काठमाण्डौबाहिर पनि गर्नेछौँ ।
अहिले राज्यले भौतिक पूर्वाधारमा नै लगानी गर्नुपर्नेछ । लगानी अगाडि बढाएका धेरै संरचनाहरू पूरा भइसकेका छैनन् । अझै पनि हामी राति प्रतियोगिता सञ्चालन गर्न सक्ने अवस्थामा छैनौँ, अर्को वर्षको नेपाल प्रिमियर लिग फ्ल्डलाइटमा गर्न सकिन्छ भन्ने हामीलाई विश्वास छ । यसका लागि ३० करोड रुपैयाँ आवश्यक छ । यस्तै मूलपानी क्रिकेट मैदानमा पनि थप लगानीको आवश्यकता छ ।
राज्यले अहिले खेलकुद क्षेत्रमा लगानी बढाएको छ र पूर्वाधारलाई राष्ट्रिय गौरवका आयोजनामा समेटेको छ । यद्यपि यो लगानी पर्याप्त नभएकोले पूर्वाधार विकास, प्रशिक्षण र युवा सहभागितामा अझ सुधार आवश्यक छ ।
नेपाली क्रिकेटको भविष्य
नेपाली क्रिकेटमा गएका वर्षहरूमा भन्दा तुलनात्मक रूपमा लगानी बढेको छ । निजी क्षेत्र क्रिकेटमा लगानी गर्न उत्सुक देखिन्छ । खेलकुद प्रतियोगितामा राम्रो प्रायोजन प्राप्त भइरहेको छ । खेलाडीहरूमा पहिलेभन्दा प्रत्यक्ष तथा अप्रत्यक्ष दुवै रूपमा लगानी बढेको छ । यो चाहे सेवा सुविधामा होस्, प्रशिक्षण वा व्यक्तिगत प्रायोजनमा । हिजो र आजको अवस्था पक्कै पनि फरक भइसकेको छ । तर यस परिवर्तनलाई दीर्घकालीन रूपमा कसरी टिकाई राख्ने यो चुनौती पक्कै छ ।
नेपाली क्रिकेटको भविष्य उज्ज्वल देखिन्छ । युवा प्रतिभाको प्रस्फुटन, व्यावसायिक लिगको शुरुआत र अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शनले नेपाललाई आउँदा वर्षहरूमा उत्कृष्ट क्रिकेट राष्ट्रका रूपमा चिनाउने सम्भावना छ ।
हामीले सञ्चालन गर्ने नेपाल प्रिमियर लिगमा पनि यसलाई ध्यान दिएका छौँ । हरेक टिममा अन्तर्राष्ट्रिय प्रभावशाली खेलाडीदेखि स्थानीय प्रतिभावान् खेलाडीहरू समेटिएका छन । यसले नयाँ आउने खेलाडीहरूलाई अनुभव र ऊर्जा दिन्छ । निखारिने मौका मिल्छ ।
राज्यले दीर्घकालीन खेलकुद रणनीति बनाउनु, बजेटको उचित व्यवस्थापन गर्नु, स्थानीय तहमा खेल सुविधाहरू विस्तार गर्नु र विभिन्न सफलता दिन सक्ने खेलहरूको पहिचान गरी ती खेलहरूको विकासका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ । खेलाडीहरूको भविष्य सुरक्षित गर्न सामाजिक सुरक्षा र व्यावसायिक अवसरहरू पनि थप्नुपर्छ ।
खेलकुदको बहुआयामिक योगदान
खेलकुदमा लगानीले राष्ट्रको प्रतिष्ठा बढाउँछ । यसले राष्ट्रको पर्यटन प्रवर्द्धन गर्नुका साथै युवा शक्तिलाई सकारात्मक दिशामा लैजान र देशको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउँछ । यहाँ हुने खेलकुद गतिविधि नियाल्न विदेशी पर्यटकहरू भित्रिन्छन् । त्यसको फाइदा खेल क्षेत्रलाई मात्रै होइन अन्य क्षेत्रलाई पनि उत्तिकै हुन्छ । यो भनेको राज्यले पाउने फाइदा नै हो । हामीले खेलकुदलाई जीत र हारको रूपमा मात्रै हेर्याैँ भने न्याय हुँदैन ।
खेलकुदले पर्यटन, स्वास्थ्य, शिक्षा, रोजगार सिर्जना, सामाजिक एकता र आत्मबलमा सकारात्मक प्रभाव पार्छ । यसले राष्ट्रिय एकता, अन्तर्राष्ट्रिय सञ्जाल विस्तार र स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्याउँछ ।
राज्यले दीर्घकालीन सोचका साथ खेलकुदमा व्यावसायिक र संरचनात्मक लगानी गर्नुपर्छ । युवा प्रतिभा पहिचान र विकासमा ध्यान दिँदै अन्तर्राष्ट्रियस्तरका सुविधाहरू निर्माण गर्नुपर्ने आवश्यकता छ ।
नेपाली क्रिकेटलाई थप सशक्त बनाउन हामीले दीर्घकालीन लक्ष्यअनुसारका कार्यक्रमका साथै आधारभूत सुविधाहरू विस्तार गर्ने प्रयास गरिरहेका छौँ । पुरुष क्रिकेटसँगै अब महिला क्रिकेट खेलाडीहरू तथा ग्रासरुट क्रिकेट विकासमा विशेष ध्यान केन्द्रित गरेका छौँ । आईसीसीको पूर्ण राष्ट्र बन्नका लागि चाहिने सम्पूर्ण मापदण्डहरूअनुसार काम गरिरहेका छौँ । नेपाली क्रिकेटलाई थप उचाइमा लग्ने प्रयासमा हामी निरन्तर लागेका छौँ । सबैको साथ सहयोग लिएर आगामी दिनमा पनि हाम्रो प्रयास जारी रहन्छ ।
(क्यानका सचिव पारस खड्काको यो विचार नेपाल आर्थिक पत्रकार समाज 'सेजन' को स्मारिकाबाट साभार गरिएको हो ।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
खड्का नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव हुनुहुन्छ ।