निर्मलाका बुवाको मानसिक स्वास्थ्य बिग्रिँदै, उपचारका लागि काठमाडौं पठाउने तयारी

 मंसिर ७, २०७५ शुक्रबार १४:११:३४ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बावुको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ ।

छोरीको न्यायका लागि १३ औं दिनदेखि धर्नामा बसेका निर्मलाका बावु यज्ञराज पन्तको स्वास्थ्य अवस्थासँगै मानसिक अवस्था पनि बिग्रिँदै गएको चिकित्सकहरुले बताएका छन् ।

मृतक निर्मलाका बुवा रातमा नसुत्ने, बडबडाउने र दिँउसो रुँदै अरुलाई गालीगलौज गर्दै बजारमा हिँड्न थालेपछि उहाँलाई सम्हाल्न समस्या भएको स्थानीयवासीले बताएका छन् । पछिल्लो समय उहाँको मानसिक अवस्था अस्वभाविक रुपमा बिग्रिँदै गएपछि परिवार चिन्तित भएका छन् ।

निर्मलाको मृत्युपछि यज्ञराज डिप्रेसनमा गएको भन्दै चिकित्सकले उहाँलाई एकान्त वातारवणमा बस्नुपर्ने सुझाव दिएका थिए । तर छोरीको न्यायका लागि अनिश्चितकालीन धर्नामा बसेकाले पनि उहाँको स्वास्थ्य अवस्था झनै बिग्रिएको नागरिक संघर्ष समितिका संयोजक मीना भण्डारीले बताउनुभयो । निर्मलाका बुवाको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि थप उपचारका लागि उहाँलाई काठमाडौं लैजाने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निर्मलाका बुवाको अवस्था दिनप्रतिदिन बिग्रिँदै गएकाले स्थानीय प्रशासनबाट परिवार र अधिकारकर्मीको रोहवरमा थप उपाचारका लागि यज्ञराजलाई सुविधा सम्पन्न अस्पतालमा पठाउन पहल भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताउनुभयो । उहाँले निर्मलाको बुवाको बिग्रिँदै गएको स्वास्थ्य अवस्थाका बारेमा केन्द्रमा पनि जानकारी गरेको बताउनुभयो ।

केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको टोलीले धर्नास्थलमै पुगेर पीडित परिवारको स्वास्थ्य परीक्षण गरेको थियो । तर अहिले उहाँको मानसिक अवस्था झनै बिग्रिँदै गएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया