सार्वजनिक खरिद अनुगमन कार्यालयले भन्यो : वाइडबडी जहाजको बारेमा मिडियामा आएपछि मात्र थाहा भयाे

 मंसिर १२, २०७५ बुधबार १३:६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सार्वजनिक खरिद अनुगमनको कार्यालयले  नेपाल वायुसेवा निगमले खरिद गरेका २ वटा वाइडबडी विमान खरिदबारे आफूलाई थाहा नभएको जनाएको छ ।

संसदको लेखा समितिमा कार्यालयका सचिव मधु रेग्मीले आफूहरुले मिडियामा आएको आधारमा मात्रै थाहा पाएको र निगमले आफूलाई जानकारी नदिएको बताउनुभयो । 

‘यो विषयमा निगमले हामीसँग सहकार्य गरेको छैन, त्यसैले हामीले विस्तृत रुपमा बुझ्न पाएका छैनौँ’, रेग्मीले भन्नुभयो । उहाँले जहाज किनिएको र अनियमितताको बारेमा मिडियामा आएपछि मात्रै थाहा भएको बताउनुभयो ।  

यस्तै कार्यालयका निर्देशक रामचन्द्र शर्माले सार्वजनिक खरिद ऐनमा कुनै पनि बस्तु खरिद गर्दा ब्रान्ड वा क्लाइन्ट्बाटै किन्न नहुने भए पनि निगमले किन एयरबस कम्पनी नै रोज्यो भन्नेमा आफूहरुलाई जानकारी नभएको बताउनुभयो । 

तर सामान किन्दा उत्पादकसँगबाट मात्र नभई एजेन्टबाट पनि किन्न सकिने भएकाले निगमले एजेन्टबाट किन्दा गलत नभएको उहाँले बताउनुभयो । 

बैठकमा सांसदहरुले नयाँ जहाज किन्नुपर्नेमा किन एक हजार घण्टा उडेको किनियो, एयरबस कम्पनी नै किन तोकियोलगायतका प्रश्न गरेका छन् । समितिले ७ दिनभित्र लिखित राय पेस गर्न पनि सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई निर्देशन पनि दिएको छ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया