माथिल्लो तामाकोशीको शेयर बाँडफाँड गरेको एक महिना पुग्दासमेत पैसा फिर्ता भएन

 मंसिर १३, २०७५ बिहिबार १६:३८:२८ | उषा तामाङ
unn.prixa.net

दोलखा – दोलखावासीका लागि खुलाइएको माथिल्लो तामाकोशीको शेयर बाँडफाँड गरेको एक महिना पुग्न लाग्दासमेत पैसा फिर्ता भएको छैन । दोलखावासीको शेयर कात्तिक १४ गते बाँडफाँड गरिएको थियो । 

शेयर बाँडफाँड भएको केही दिनपछि रकम फिर्ता सुरु गरिएको भनिए पनि एक महिना बित्नै लाग्दासमेत हाल सम्म सम्पूर्ण दोलखावासीको रकम फिर्ता आएको छैन । 

रकम फिर्ता नहुँदाको प्रत्यक्ष प्रभाव सेयर भर्न ऋण खोज्नेहरुलाई परेको छ । प्रतिमहिना १६ प्रतिशत ब्याज तिर्ने प्रतिबद्धतासहित ऋण लिएकाहरुले लगातार ४ महिनादेखि ब्याज बुझाउँदै आइरहेका छन् । 

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले सम्पूर्ण दोलखावासीको रकम फिर्ता पठाइसकिएकामा झण्डै १५ प्रतिशतको रकम खातामा नगएको बताउनुभयो । के कारणले रकम खातामा गएन भन्ने विषयमा अहिले अध्ययन भइरहेको र अबको २ दिन भित्र सम्पूर्ण दोलखावासीको रकम खातामा जाने डाक्टर न्यौपानेको भनाई छ । 

सर्वसाधारणको शेयर बाँडफाँड 

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले सर्वसाधारणका लागि छुट्याएको शेयर बाँडफाँँड गरिएको छ । 

बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सनराइज क्यापिटलले काठमाडौंमा मंगलबार कार्यक्रमको आयोजना गरी सेयर बाँडफाँड गरेका हुन्।

कुल १ लाख ७२ हजार ७ सय ७५ जनाले ५० कित्ता शेयर पाएका छन् । १ लाख ६१ हजार ३ सय जनाले भने ४० कित्ता शेयर पाएका छन् । सबैलाई ४० कित्ता सेयर दिइसकेपछि पुनः बाँकी रहेको १० कित्ता सेयर १ लाख ७२ हजार ७ सय ७५ जनालाई गोलाप्रथाबाट दिइएको हो ।

कुल १ करोड ५९ लाख ९० हजार ७ सय ५० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको थियो । 


 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया