भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार शुरू

 मंसिर ४, २०८१ मंगलबार १२:९:४७ | रासस
unn.prixa.net

 चितवन – भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क शुरू गरेको छ । अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क शुरू गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्नेगरी गएको कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय गरेसँगै अस्पतालले यो निर्णयलाई कार्यान्वयनमा ल्याएको हो ।

सरकारले सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, कान्ति बाल अस्पताल काठमाण्डौ र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पौडेल नियुक्त भएलगत्तै १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क उपचार सेवा प्रदान गर्नेगरी पहल शुरू गर्नुभएको थियो ।

अस्पतालका निर्देशक डा. चालिसेले भन्नुभयो, ‘सरकारको नीतिअनुसार भक्तपुर क्यान्सर अस्पतालले नेपालमै पहिलो पटक अस्ति मङ्सिर २ गतेदेखि यो सेवा शुरू गरेकाे छ, स्वास्थ्यमन्त्री प्रदीप पौडेलले भोलि यसको औपचारिक उद्घाटन गर्दै हुनुहुन्छ, अब बालबालिकाले आर्थिक अभावका कारण उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था आउँदैन, अस्पतालले निरन्तर सेवा दिन्छ ।’

अस्पतालका वरिष्ठ प्रशासकीय प्रमुख राजाराम तजलेले क्यान्सर बिरामीको चाप बढिरहँदा बालबालिकामा पनि विभिन्न क्यान्सर रोग बढ्दो रहेको बताउँदै अहिले भक्तपुर क्यासर अस्पतालमा झन्डै ६० जना क्यान्सर रोगका बालबालिका उपचारका लागि आइरहेको बताउनुभयो । उहाँले अस्पतालले मन्त्रालयको नीतिअनुसार नै निःशुल्क उपचार शुरू गरेको बताउनुभयो ।

बालबालिकाको क्यान्सर रोगको उपचारसँगै क्यान्सरको उपचारमा आवश्यक पर्ने ३५ प्रकारका औषधि निःशुल्क प्रदान गरिनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०८० साल चैत १४ गते विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) सँग बालबालिकामा हुने क्यान्सरको उपचारका लागि निःशुल्क औषधि प्राप्तिका लागि सम्झौता गरेको थियो ।

नेपालमा कुल मृत्युमध्ये दुई तिहाइभन्दा बढी अर्थात् ७१ प्रतिशत नसर्ने रोग कारण हुने गरेको र त्यसमध्ये ११ प्रतिशतको क्यान्सर रोगका कारण ज्यान जाने गरेको मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा सन् २०२२ मा क्यान्सरका २२ हजार जना नयाँ बिरामी देखिएकामा १४ हजार जनाभन्दा धेरैले ज्यान गुमाएका थिए र हरेक वर्ष झन्डै १५ सय जना बालबालिकामा क्यान्सर देखिने गरेको छ ।

क्यान्सरका बिरामी बालबालिकालाई परिवारको आर्थिक अभावमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले समयमै उपचार गरेर ज्यान बचाउन मन्त्रालयले यो उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया