सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न काठमाण्डौ महानगरको पत्राचार

 पुष १३, २०८१ शनिबार ९:१८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक सङ्घ–संस्थाका नाममा दर्ता भएका तर व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा सङ्घ–संस्थालाई कर तिर्न पत्राचार गरेको छ ।

पहिलो चरणमा पत्र पठाइएका सङ्घ–संस्थामा कृषि सामग्री कम्पनी लिमिटेड, पशुपति क्षेत्र विकास कोष, मारवाडी सेवा समिति र खाद्य व्यववस्था तथा व्यापार कम्पनी लिमिटेड छन् । यी कम्पनीलाई सम्पत्ति कर र बहाल कर तिर्न पत्राचार गरिएको राजस्व विभागका प्रमुख दीपक अधिकारीले जानकारी दिनुभयो ।

संविधानको धारा ५७ (४) तथा अनुसूची ८ अनुसार घर बहाल कर सङ्कलन गर्ने विषय स्थानीय तहको एकल अधिकारअन्तर्गत पर्छ । संविधानको धारा ६० मा स्थानीय तहले आफ्नो आर्थिक अधिकार क्षेत्रभित्रको विषयमा कर लगाउन र राजस्व उठाउन सक्ने व्यवस्था गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५७ मा गाउँपालिका वा नगरपालिकाको आफ्नो क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, कारखाना, जग्गा वा पोखरी पूरै वा आंशिक तवरले बहालमा दिएकोमा त्यस्ताेमा गाउँपालिका वा नगरपालिकाकाे बहाल कर लाग्नेछ भन्ने व्यवस्था छ । यस व्यवस्थाबमोजिम काठमाण्डाै महानगरपालिकाभित्रका बहाल आयमा लाग्ने कर महानगरले मात्र सङ्कलन गर्न सक्छ ।

यससँगै अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा ३ (३) र अनुसूची ३ ले स्थानीय तहले स्थानीय कानूनबमोजिम घर बहाल कर लगाउन सक्ने व्यवस्था गरेको छ । महानगरले जारी गरेको राजस्व ऐन २०७५ को परिच्छेद ४, आर्थिक ऐन, तथा घर बहाल व्यवस्था निर्देशिका २०७९ ले आफ्नो क्षेत्रभित्रका व्यक्ति वा संस्थाले बहालमा लगाएको भवन, घर वा जग्गाको बहाल कर उठाउनेसम्बन्धी व्यवस्था छ ।

बहाल व्यवस्था गर्न काठमाण्डाै महानगरको नगरसभाले नेपालको संविधानको धारा २२६ को उपधारा (१) र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ बमोजिम महानगरको राजस्व ऐन २०७५ जारी गरेको छ । संविधानको धाराबमोजिम नगरसभाले जारी गर्ने सालवसाली आर्थिक ऐनले तोकेको दररेटमा रहेर सबै करदातासँग बहाल आम्दानीमा बहाल कर लगाउँदै आएको छ ।

अन्तिम अपडेट: पुस १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया