एसिडको पीडा र घाउ भुल्दै संगीताले घुम्टो खोलिन्

 मंसिर १७, २०७५ सोमबार ८:४८:२२ | मिलन तिमिल्सिना
unn.prixa.net

काठमाडौं – चार वर्ष अघिसम्म उनी दिनमै चारफेर ऐना हेर्थिन् । आफ्नो अनुहार निकैबेर नियाल्थिन् । गालामा सानो डण्डीफोर देखियो भने पनि चिन्ता लाग्थ्यो, उतिखेरै निचोरेर फाल्थिन् । दाग त परको कुरा, सानो धुलोको सानो कण पनि अनुहारमा देखिंदैन थियो । 

उसैगरी कपाल मिलाउँथिन् । आँखामा गाजल लगाउँथिन् । गालामा पाउडर दल्थिन् । अनि मुसुक्क मुस्कुराउँदै र फर्‍याकफुरुक गर्दै स्कुल जान्थिन् । आहा तँ त कति राम्री भएकी भनेर साथीहरुले जिस्क्याउँदा लाजले रातोपिरो हुन्थिन् । 

साढे तीन वर्षभन्दा बढी समय उनले ऐना पनि हेरिनन् । कसैलाई आफ्नो अनुहार पनि देखाइनन् । कतै जान र साथीसंगीसँग रमाइलो गरेर हिँड्न मन पनि लागेन । अब जिन्दगीका सबै खुशी सकियो भनेर उनले हरेश खाइन् । 

तर स्कुले जीवनको यस्तो चुलबुलेपन र फर्‍याकफुरुकमा रम्ने रहर बाँकी छँदै एउटा कहालीलाग्दो र भयंकर घटनाले उनको उज्यालो अनुहारमा एकाएक अँध्यारो छायो । बल्लतल्ल ज्यान त जोगियो, तर अनुहारको चमक जोगिएन । ऐना हेर्दै, कपाल मिलाउँदै, गाजल र पाउडर लगाउँदै राम्री बनेर हिँड्ने चाहना चकनाचुर भयो । 

साढे तीन वर्षभन्दा बढी समय उनले ऐना पनि हेरिनन् । कसैलाई आफ्नो अनुहार पनि देखाइनन् । कतै जान र साथीसंगीसँग रमाइलो गरेर हिँड्न मन पनि लागेन । अब जिन्दगीका सबै खुशी सकियो भनेर उनले हरेश खाइन् । 

तर अनुहारको चमक हराउँदैमा जिन्दगीका महत्वपूर्ण पाइला र सपना त्यसै कहाँ गुमाउन सकिन्छ र ? साथीभाइ, परिवार र आफन्तले उनलाई हौसला दिए । सबैको प्रेरणाले उनले आत्मबल दरिलो बनाइन् । 

उनलाई लाग्यो–जे हुनु भैसक्यो, त्यो कहालीलाग्दो दिनलाई सधैं सम्झेर आफ्नो जीवनलाई अँध्यारो बनाउनुभन्दा हिम्मतका साथ जीवनमा उज्यालो खोजेर अघि बढ्नु नै बुद्धिमानी हो ।

थन्क्याएर राखेको ऐना खोजिन् र एकपटक नियालेर हेरिन् । चार वर्षअघिको कालो छाया हराउँदै गएको र अनुहारमा आत्मबलको उज्यालो रेखा चम्कँदै गरेको देखिन् । उनलाई लाग्यो–जे हुनु भैसक्यो, त्यो कहालीलाग्दो दिनलाई सधैं सम्झेर आफ्नो जीवनलाई अँध्यारो बनाउनुभन्दा हिम्मतका साथ जीवनमा उज्यालो खोजेर अघि बढ्नु नै बुद्धिमानी हो । त्यसपछि अस्तिसम्म अनुहार ढाकेर बस्ने उनले बिस्तारै घुम्टो फालिन् । 

उनी अर्थात चार वर्षअघि बसन्तपुरमा एसिड आक्रमणमा परेकी संगीता मगर । एसिड आक्रमणलगत्तै आफ्नो जिन्दगी सकियो भनेर हार खाएकी उनी अहिले आफूजस्तै अरुको जिन्दगी जोगाउने अभियानमा जुटेकी छिन् । उनीभन्दा अगाडि छिन्, सँगै एसिड आक्रमणमा परेकी साथी सीमा बस्नेत । अनि दुवै किशोरीको साथमा छन्, उनीहरुका बाआमा, आफन्त र साथीभाइ । 

एसिडले जलाउन नसकेको आत्मविश्वास 

२०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प आउनु दुई महिनाअघि नै सीमा र संगीताको जीवनमा भुईंचालो आयो । २०७१ फागुन १० गते बिहान संगीता, सीमा र अर्की साथी बसन्तपुरमा ट्युसन पढ्दै थिए । एसएलसी  परीक्षा आउनै लागेकाले उनीहरुको ध्यान किताबमै थियो । अकस्मात झ्यालबाट कसैले संगीतालाई ताकेर बोतल फाल्यो । 

संगीता र सीमा दुवैलाई लाग्यो । दुवैको अनुहार र शरीर भतभती पोल्न थाल्यो । लौन के भयो भन्दै दुवै आत्तिएर घरतिर दौडिए । पछि मात्र एसिड आक्रमण भएको उनीहरुले पत्तो पाए ।

सीमा र  संगीता दुवै अहिले उच्च शिक्षा पढ्दैछन् । सँगै आफूजस्तै एसिड पीडितको हौसला बढाउने, सहयोग गर्ने र  आफ्नो जस्तै  पीडा अरुले भोग्न नपरोस् भनेर सचेतना अभियानमा जुटेका छन् ।

हतारहतार परिवार र छिमेकीले अस्पताल पुर्‍याए । धन्न दुवैको ज्यान त जोगियो, तर एसिडको घाउ अझै निको भएको छैन । संगीताले अझै उपचार गराइरहेकी छिन् । केही दिनअघि मात्र अनुहारको शल्यक्रिया गरेको उनले सुनाइन् । 

एसिड आक्रमण भए पनि दुवैले अस्पतालबाटै एसएसली परीक्षा दिए । पास पनि भए । सीमा र  संगीता दुवै अहिले उच्च शिक्षा पढ्दैछन् । सँगै आफूजस्तै एसिड पीडितको हौसला बढाउने, सहयोग गर्ने र  आफ्नो जस्तै  पीडा अरुले भोग्न नपरोस् भनेर सचेतना अभियानमा जुटेका छन् ।

‘साढे तीन वर्षभन्दा धेरै सयम त निराशामै जिन्दगी बित्यो, जुनबेला पनि त्यही घटना सम्झेर त्रास मात्रै लागिरह्यो, तर अब आत्मबल बलियो बनाउन थालेको छु’ बसन्तपुरको डेरामा भेटिएकी संगीताले भनिन् । उनी खुलेर हिँड्न थालेको धेरै भएको छैन । केही महिना अघिदेखि मात्र उनी अनुहार देखाएर हिँड्न थालेकी हुन् । उनकी साथी सीमा त पहिलेदेखि नै एसिड पीडितलाई भेट्ने र  सचेतना अभियानमा सहभागी हुने गर्थिन् ।

‘मलाई सीमाले धेरै सम्झाइन्, बाआमा र साथीहरुले पनि प्रेरणा दिए, त्यसैले अब चुप लागेर बस्दिनँ भन्ने लाग्यो र अघि बढ्न थालेको छु’ संगीताले भनिन्, ‘आफूजस्तै अरु साथीहरु भेट्दा र यस्तो अभियानमा जुट्दा पीडा बिर्संदो रहेछ, अनि आत्मबल पनि बढ्दोरहेछ ।’

आफ्नोजस्तै अवस्था अरुले भोग्न नपरोस् भनेर एसिड आक्रमणको पीडा भुल्दै अघि बढेको उनले बताइन् । ‘कानुन कडा भयो र भएका कानुन पनि कार्यान्वयन भयो भने अब कसैले पनि एसिडको आक्रमण भोग्नु पर्दैन थियो’ संगीताले भनिन् । एसिडको आक्रमणमा परेकालाई भने सरकारले औषधीउपचारमा सहयोग गर्नुपर्ने उनको माग छ । 

फेरि मेडल जित्ने अठाेट

'मन बलियो भएपछि शरीर पनि बलियो होला नि, अनि खेल्न सक्छु होला, खेलें भनें त फेरि जित्छु '

एसिड आक्रमणमा पर्नुअघि संगीता कराँते खेल्थिन् । सानैदेखि कराँतेमा रुची राख्ने उनले थुप्रै पदक पनि जितेकी छिन् । कोठाको भित्ताभरी पदक र तक्मा सजाएर राखिएको छ । कुनैमा प्रथम भएको, कुनैमा चाहिँ दोस्रो भएको । ‘म कराँते पनि राम्रो खेल्थें नि’ उनले उत्साहित हुँदै भनिन् ।

तर एसिड आक्रमणमा परेपछि उनको कराँते खेल पनि रोकियो । ‘पहिलेजस्तो खेल्न त अब स्वास्थ्यले साथ पनि दिंदैन’ अनुहार र घाँटीमा रहेको एसिडको दाग देखाउँदै उनले भनिन्, ‘पोलेको जस्तो हैन रहेछ नि एसिडको घाउ त, शरीरको भित्र पनि असर गर्दो रहेछ ।’

तर पहिलेजस्तै खेलेर यस्तै मेडल जित्ने अठोट चाहिँ उनको बाँकी नै छ । ‘अब मन बलियो भएपछि शरीर पनि बलियो होला नि, अनि खेल्न सक्छु होला, खेलें भनें त फेरि जित्छु नि मेडल’ आत्मविश्वास दरिलो बनाएकी उनले ढुक्कसँग भनिन् ।
 

अन्तिम अपडेट: मंसिर २३, २०७५

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। उहाँलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया