काठ आयातमा वर्षेनि अर्बौँ रुपैयाँ बाहिरिँदै

 चैत ४, २०८१ सोमबार ८:५३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – ‘हरियो वन नेपालको धन’ भनिँदै आए पनि वर्षेनि अर्बौँ रुपैयाको काठ विदेशबाट आयात हुने गरेको छ ।

अघिल्लो वर्ष पाँच अर्ब १२ करोड रुपैयाँ बराबरको काठ आयात भएकोमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा मात्रै दुई अर्ब ४० करोड रुपैयाँ बराबरको काठ तथा काठजन्य सामग्री आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।

देशको कुल भूभागको ४६ प्रतिशत बनक्षेत्रले ओगटे पनि सरकारी नीति स्पष्ट नहुँदा स्वदेशमा काठ उत्पादन, व्यवस्थापन र कारोबारमा समस्या हुने गरेको छ । काठजन्य सामग्रीको माग उच्च भए पनि स्वदेशी उत्पादनले त्यसलाई पूरा गर्न सकेको अवस्था छैन ।

नेपालमा काठजन्य सामग्रीको प्रयोग निर्माण कार्य, फर्निचर उत्पादन र अन्य क्षेत्रमा उच्च मात्रामा हुने गरेको छ ।

नेपालमा वर्षेनि करिब ३ करोड घनफिट काठ उत्पादन हुने गरेको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता शिव कुमार वाग्लेले बताउनुभयो । काठ उद्योगहरुले काठका सामग्री बनाउँदा नेपाली काठको प्रयोग गर्नुपर्ने तर त्यसो नहुँदा विदेशी काठले बजार पाएको उहाँको भनाइ छ ।

वन मन्त्रालयमातहतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका अनुसार नेपालमा वर्षेनि वन क्षेत्र बढ्दै गएको छ ।

वन क्षेत्र बढेको अवस्थामा काठ उत्पादन पनि बढेर निर्यात बढ्नुपर्ने र आयात घट्नुपर्ने हो, तर काठको आयात घटेको छैन, उल्टै बढेको छ । सरकारले काठ आयातलाई कम गर्दै काठमा आत्मनिर्भर बन्ने घोषणा गरे पनि त्यो कागजमै सीमित छ ।

नेपालमा लाइबेरिया, इन्डोनेसिया, मलेसिया, म्यानमार, लाओस, जर्मनी, सुरिनाम, अमेरिकालगायत देशबाट काठ तथा काठजन्य सामग्री आयात हुने गरेको छ । 

अन्तिम अपडेट: चैत ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया